Latest News

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै, सुजातासहित को–को बन्दै छन् नयाँ मन्त्री ?

Nepalese Times June 9, 2022 (2 Year ago)    1372 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । कांग्रेसको भागमा रहेको रक्षा मन्त्रालयमा नेतृ सुजता कोइरालालाई ल्याएर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।

नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीहरुको लिस्ट यसअघि नै प्रधानमन्त्री निवास बालुवाटारमा पुगिसकेको छ । नेकपा माओवादी केन्द्र, जसपा, नेपाली कांग्रेस सबै सत्तारुढ दलहरुबाट एकैचोटी मन्त्री हेरफेरको तयारीसहित देउवाले केही दिनका लागि एकीकृत समाजवादीबाट सिफारिस भएका मन्त्रीहरुले सपथ रोकेका थिए ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पराजित भएका तत्कालिन रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएसँगै उक्त मन्त्रालय रिक्त छ । १४ औँ महाधिवेशनमा आफ्नै दाई शेखर कोइरालाको साथ छाडेर देउवा क्याम्पतिर लागेकी सुजाता कोइरालालाई रक्षामन्त्री बनाउने तयारी भएको प्रधानमन्त्री देउवा निकट स्रोतले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवार बनेर पराजित बनेकी उनले दोस्रो चरणमा सभापतिमा देउवालाई सघाएकी थिइन् । त्यसकै गुन तिर्दै देउवाले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले आज मन्त्री पदको शपथ ग्रहण हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकका लागि नयाँ बानेश्वरमा रहेको संसद् भवनमा पुगेका सांसद चौधरीले बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीवारसम्ममा हुने बताएका थिए ।

आज नै शपथ ग्रहण हुन सक्ने सम्भावना रहेको भन्दै सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए । उनले भने, ‘पार्टीले निर्णय गर्‍यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर हामी पाँच दलीय गठबन्धनभित्रकै एउटा दल हो । हामीले शपथ ग्रहण गर्ने समय राख्दा जसपाका साथीहरूले पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनका लागि आफूहरूलाई केही समय चाहिन्छ भनेपछि केही समय ढिला मात्रै भएको हो । मन्त्री त सम्भवतः आजसम्म फाइनल हुन्छ । आज शपथ ग्रहण पक्कै हुन्छ ।’

सांसद चौधरीले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकै पटक शपथ गराउनका लागि समय पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए ।

समाजवादीले पार्टीका तर्फबाट नयाँ मन्त्रीका रुपमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेबहादुर कुँवर र हिराचन्द्र केसीलाई पठाएको छ । राज्य मन्त्री भवनी खाँपुङलाई बढुवा गरेर स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिने स्रोतले जनाएको छ ।

खपुङलाई विरोध खतिवडाको ठाउँमा मन्त्रीको रुपमा पठाइने भएको छ । यस्तै सहरी मन्त्री रामकुमारी झाक्रीको ठाउँमा मेटमणि चौधरी, पर्यटनमन्त्री प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ र श्रम मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई पठाइने भएको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने तयारी छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने तयारीमा छ । देउवाले लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन्। यसमा विषयमा लोसपाका शीर्ष नेताहरुसँग आज थप छलफल हुने भएको छ ।

उता, जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ ।  जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन्। सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका महेन्द्रराय यादवबाहेकका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलाई सरकारमा पठाउने तयारी भइरहेकाे बताइन्छ ।

प्रतिक्रिया दिनुहोस