काठमाडौं । चर्चित संचारकर्मी रवि लामिछानेले टेलिभिजनको यात्रा टुंग्याउने तयारी गरेका छन् । लामो समयदेखि टेलिभिजन कार्यक्रममार्फत चर्चा बटुलेका लामिछानेले ग्यालेक्सी टेलिभिजन छाडेर संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् ।
लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने तयारी गरेसँगै उनले ग्यालेक्सी टेलिभिजनमा रहेको आफ्नो स्वामित्व बेच्ने तयारीसमेत गरेको स्रोतले जनाएको छ ।
टेलिभिजन कार्यक्रममार्फत राजनीतिक, आर्थिक, सामाजिक क्षेत्र विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमा समस्यामा परेकाहरुलाई सोही कार्यक्रममार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा लागेर देश बनाउने सोच बनाएको उनकै एक सहयोगीले बताए ।
उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलिभिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्ररुपमा चुनाव उठ्ने तयारी गरेका स्रोतले जनाएको छ ।
दलबाट चुनाव लडिहाले पनि जनताको नजरमा बदनाम भइसकेका दलहरुबाट चुनाव नलड्ने उनको योजना रहेको छ । लामिछानेको सिधा कुरा कार्यक्रम निकै लोकप्रिय पनि छ ।
लामिछाने काठमाडौंकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । त्यसैको तयारीस्वरुप अहिले विवादमा नपरेका अभियान्ताहरुसँग उनले कुराकानी गरिरहेका छन् ।
यस्तै २०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा पनि उम्मेदवारी घोषणा गरेकी छिन् ।
उनले काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । ‘काठमाडौं ५ बाट उम्मेदवारी दिन्छु’, उनले भनिन्, ‘स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेकी छु, दलबाट होइन ।’
काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४ र ५, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं. ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ मा राखिएको छ ।
विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन् । विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उम्मेदवार बन्ने दर्शनाले निर्णय गरेकी छन् । थापाले काठमाडौं ५ बाट चुनाव लड्दै आएका थिए ।