काठमाडौं । नेकपा एकीकृत समाजवादीको तर्फबाट शहरी विकास मन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्रीको शपथ ग्रहण गरिसक्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ बिहीबारसम्ममा गरिसक्ने बताए।
उनले बुधबार(आज) नै शपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताए। चौधरीले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको शपथ रोकिएको बताए। पार्टीले गरेको निर्णय कार्यान्वयन हुने उनको दाबी छ।
‘पार्टीले निर्णय गर्यो। निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ। तर आज हामी पाँच दलिय गठबन्धन भित्रकै एउटा दल हो। एउटा पार्टी हो। हामीले शपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरी जसपाका साथीहरुले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिला मात्रै भएको हो। मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ। आज भएन भने शपथ भोलि पक्कै हुन्छ।’
उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक शपथ गराउनका लागि पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए।
‘एकदमै पाको काम हो। पार्टीले गर्ने भनेको यही हो। संस्थागत गर्ने निर्णय नै हो। अब त्यसपछि अरु पार्टी माओवादीभित्र पनि प्रेसर छ। कांग्रेसभित्र पनि प्रेसर छ। सबैले एकैपटक गरौँ भनेपछि ल दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो। यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन। सकभर आज नभए भोलि ग्यारेन्टी हुन्छ’ उनले भने।
यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा ६ महिना पूरा भएका मन्त्रीहरू रामकुमारी झाँक्रि, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा, मेटमणी चौधरीलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।
समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने, चौधरीसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेरमा सहमति जनाएका छैनन् । उनले अहिले बजेट सेसन चलिरहेकोले मन्त्रीहरु हेरफेर गर्दा नराम्रो सन्देश जाने भन्दै माधव नेपालले सिफारिश गरेको नामबारे निर्णय गरिसकेका छैनन् ।