Latest News

रामवीर मानन्धरलाई पनि कारबाही गर्ने केपी ओलीको तयारी, एमालेमा खैलाबैला

Nepalese Times June 8, 2022 (2 Year ago)    1056 Views

काठमाडौं । केही दिनअघि नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसालसँग स्पष्टिकरण सोध्ने निर्णय गर्यो ।

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा भूषाललाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए उनलाई कारबाही गर्ने निर्णय भएसँगै एमालेभित्रको विवाद छताछुल्ल भयो ।

स्थानीय तह चुनावको परिणाम सार्वजनिक भएलगत्तै नेता भूसालले एक टेलिभिजनमा कुराकानी गर्दै अध्यक्ष केपी ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र लिएको नीतिको विषयमा आलोचना गरेका थिए ।

भुषालले टेलिभिजनमा दिएको अन्तर्वार्तामा गम्भीर विषयहरु रहेका र त्यस विषयमा विधिवत, संस्थागत रुपमा निर्णय गरेर पार्टी केन्द्रमा पठाइएको अनुशासन आयोगका अध्यक्ष केशव बडालको भनाइ छ ।

भूसालमाथि कारबाहीको डण्डा चलाउन नपाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का एमाले सांसद रामवीर मानन्धरलाई पनि कारबाहीको तयारी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन सक्रिय भएको आरोप लागेका मानन्धरलाई कारबाहीको तयारी भएको एमाले स्रोतले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर पदको टिकट नपाएपछि मानन्धरले चुनावको मुखमै असन्तुष्टि व्यक्त गरेका थिए । उनले नेकपा एमालेले कुनै पनि वडा नजित्ने र क्लिन स्वीप नै हुँने अवस्था रहेको भनेका थिए ।

आफ्नै पार्टीका उम्मेदवारको विरोधमा लागेका उनले त्यसै समयमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलगायतसँग पनि भेट गरेको खबर बाहिरिएको थियो ।

काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितलाई हराउन लापिरेको मानन्धरमाथि आरोप छ । स्थानीय तहको चुनावमा मानन्धरले त्यति सक्रियता देखाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस