Latest News

प्रतिनिधिसभा चुनावः रञ्जु दर्शनाले गरिन् उम्मेदवारी घोषणा, कहाँबाट लड्दै छिन् ?

Nepalese Times June 8, 2022 (2 Year ago)    655 Views

काठमाडौं । २०७४ सालको स्थानीय चुनावमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयर उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा पनि उम्मेदवारी घोषणा गरेकी छिन् ।

उनले काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । ‘काठमाडौं ५ बाट उम्मेदवारी दिन्छु’, उनले भनिन्, ‘स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेकी छु, दलबाट होइन ।’

काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४ र ५, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं. ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ मा राखिएको छ ।

विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन् ।

विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उम्मेदवार बन्ने दर्शनाले निर्णय गरेकी छन् । थापाले काठमाडौं ५ बाट चुनाव लड्दै आएका थिए ।

गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता इश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा. प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए ।

यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा नुवाकोटको १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौं ५ बाट नउठ्ने र गृह जिल्ला नुवाकोटको १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिनका लागि उनले काठमाडौं ५ छोड्न लागेका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महत नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाडौं ५ मा पराजित भएका थिए । त्यसअघि भने यो क्षेत्रमा कांग्रेस नेता नरहरि आचार्यले एमालेका पोखरेललाई पराजित गरेका थिए ।

प्रकाशशरण महत अहिले काठमाडौं ५ मा उम्मेदवार नबन्ने नुवाकोट १ बाट उठ्ने तयारी भएको नुवाकोटका एक जिल्ला नेताले बताएका छन् ।नुवाकोट १ मा उनी उम्मेदवार बन्नका लागि डा. रामशरण महतलाई मनाउनुपर्दछ । देउवा निकट भएकाले उनलाई रामशरण महतलाई भन्दा टिकट पाउन सहज पनि छ ।

प्रतिक्रिया दिनुहोस