काठमाडौं । अत्यधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।
नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए।
नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकाको प्रमुख, उपप्रमुखको सचिवालयलाई विद्यालय बन्दको जानकारी गराएको छ। कञ्चनपुरमा एक सातादेखि अत्याधिक गर्मी बढेको छ। तातो हावा चल्दा घर बाहिर हिँडडुल गर्न समस्या हुन थालेको छ।
यस्तै अत्यधिक गर्मी बढेसँगै वेदकोट नगरपालिकाले विद्यालयमा बिदा दिएको छ। नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा नगरपालिकाले विदा दिएको हो।
जेठ २५ गते देखि २७ गतेसम्म विद्यालयहरु विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए।
अत्यधिक गर्मीले मौसम प्रतिकूल भई विद्यालयको पठनपाठनमा निकै समस्या भएकाले विदा दिने निर्णय गरिएको उनले बताए।
लामो विदाबाट मिलान गर्ने गरी विदा व्यवस्थापन गरिएको उनकाे भनाइ रहेको छ। यस अघि भीमदत्त नगरपालिकाले आजदेखि लागू हुने गरी चार दिन विद्यालयमा विदा दिने निर्णय गरेको थियो।
गर्मीका कारण विद्यार्थी बेहोस हुने, बिरामी पर्ने, कक्षा कोठामै सुत्ने र विद्यालय आउजाउ गर्न समेत निकै समस्या हुन थालेपछि स्थानीय तहले विद्यालयमा विदा दिन थालेका हुन्।