Latest News

घनश्याम भूसालमाथि कारबाहीबारे एमाले वरिष्ठ उपाध्यक्ष पोखेरलले पनि मुख खोले, दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 7, 2022 (2 Year ago)    699 Views

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भूसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको र त्यसबारे पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने प्रतिक्रिया दिएका छन् ।

घनश्याम भूसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको भन्दै उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात निर्णय लिइने बताए ।

कुनै पनि चिज कमिटीमा छलफल हुने र यदि कुनै विषय हो भने कमिटीमा आउने र छलफल हुने भन्दै उनले भने, ‘ कमिटीले निर्णय गर्छ । बाहिर जसरी सुन्छु नि मैले, म न्यूजहरु हेर्छु । पढ्छु । मलाई पनि अचम्म लागेको छ ।’

उनले भने, ‘ केही इस्यु कुनै व्यक्ति विशेषको, कुनै निर्णय विशेषको, कुनै बोलि विशेषको छ भने पनि कमिटीको आन्तरिक एजेण्डा हो यो । बाहिर पब्लिक कन्जम्सनको विषय होइन नि यो । त्यो विषय त छलफल गरौँला नि कमिटीमा हामी ।’

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमालेमा विवाद चर्किएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्थायी कमिटी सदस्य घनश्याम भुसालले आलोचना गरेपछि पार्टीमा विवाद चर्किएको हो ।

अध्यक्ष ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको आरोपमा पार्टी अनुशासन आयोगले भुसाललाई कारबाही गर्न केन्द्रीय कमिटीलाई निर्देशन दिएको छ । अनुशासन आयोगको सो निर्देशनसँगै विवाद अब केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएको छ ।

अनुशासन आयोगका अध्यक्ष केशव बडालले भुसालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि कारबाही प्रक्रियाअगाडि बढाउन निर्देशन दिएको बताए । ‘कुनै विषयमा असहमति वा फरक मत भए त्यसलाई पार्टी बैठकमा राख्न पाइन्छ, सार्वजनिक रूपमा पार्टी नीतिविपरीत अभिव्यक्ति दिएपछि सो विषय कारबाहीको विषय हुने नै भयो,’ उनले भने ।

यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टी भित्रका कमी कमजोरीहरुलाई समीक्षा गरेर एकतावद्ध हुनुपर्ने बताए । पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाई छ ।

कोही पनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने भन्दै उनले यतिबेला नेकपा एमाले एकतावद्ध भएर अगाडी जानुपर्ने बताए ।

उनले भने, ‘हामी आवेग, उत्तेजनामा होइन कोहीपनि आउनु हुदैनँ । र पार्टीलाई एकढिक्का बनाएर जानुपर्छ ।’ उनले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टीपंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिहरुलाई सहयोग गरेको ठहरिने बताए ।

 

प्रतिक्रिया दिनुहोस