काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नयाँ विचार, नयाँ सोच र नयाँ कर्मसहित नयाँ अनुहारलाई समेटेर मन्त्रीमण्डल बनाउनुपर्ने बताएका छन् ।
नेपालमा जतिसुकै मै हुँ र सिनियर नेता भन्नेहरुमा पनि मन्त्रीका लागि र्याल काढिहाल्ने चलन रहेको भन्दै उनले उनीहरु पर्फमेन्स देखाउनमा होइन, भ्रष्टाचारमा डुङडुङ्ती गन्हाइसकेका टिप्पणी गरे ।
म मन्त्री भइसकें, अब प्रधानमन्त्री बाहेक अरु मन्त्री हुँदिनँ भन्ने नेता नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का मात्र रहेको भन्दै उनले राजनीतिका सारा मूल्य, मान्यता र आदर्श बिर्सेर लम्पसार ढल्नेले मुलुकलाई अगाडि बढाउन नसक्ने बताए ।
उनले भने, ‘तपाईं के बन्नुहुन्छ भन्ने होइन, मुलुक, पार्टी र समाजलाई के दिनुहुन्छ भन्ने कुराले अर्थ राख्छ । अबको मन्त्रीमण्डलमा नयाँ विचार, नयाँ सोच र नयाँ कर्मसहित नयाँ व्यक्ति आउनुपर्ने देखेको छु ।”
मुलुकको हरेक ठाउँमा परिवर्तन आवश्यक रहेका उनले औंल्याए । कांग्रेस नेता डा. भण्डारीले भने, “देश बनाउने हो, भ्रष्टाचारको अन्त्य र समृद्धिको बाटोमा लैजाने हो भने नयाँ पालुवालाई अगाडि बढाउनुपर्छ । दूध नै नदिने थारा भैंसी पाल्दा गोठको इज्जत हुँदैन ।’
उनले भने, ‘हामीकहाँ मन्त्रीको नामसँग नयाँ कामभन्दा पनि कलंक र करप्सन जोडिन्छ । हाम्रै छिमेकी देशको पञ्जाब राज्यमा मन्त्रीलाई हटाएर कारबाहीका लागि प्रहरीमा बुझाइयो । त्यस्तो गर्न नसके यो सिस्टमलाई नै समस्या पर्न सक्छ ।”
कांग्रेस नेता डा. भण्डारीले पार्टीको कुरा नमान्दा अराजकता सिर्जना हुने पनि बताए । उनले थपे, “राजनीतिक पार्टीको मूल्य र मान्यता कायम हुन सकेन । सत्ता पैसा वा नाफामा जोडियो । माफिया नै शक्ति केन्द्रजस्तो बने । पार्टीको ह्वीप कार्यकर्ताले नमान्दा अराजकता सिर्जना हुन्छ । त्यसैले पार्टी निर्णयबारे छलफल गरेर जानुपर्छ । संसदीय व्यवस्थामा राजनीतिक दलहरु महत्त्वपूर्ण छन् । अराजकता बढ्दा राजनीतिक दलहरु चल्न सक्दैनन् ।”
किसानलाई पेन्सन दिन्छु भन्ने सरकारले समयमै रासायनिक मल दिन नसक्नु लज्जास्पद भएको आरोप पनि उनले लगाए ।
भण्डारीले भने, “सरकार किसानलाई पेन्सन दिन्छु भन्छ, तर खेती लगाउने बेला रासायनिक मल दिन सक्दैन । तपाईंको कार्यक्रममै सुने अनुसार कृषिमन्त्री नै भागिरहेका छन् । यस्ता कुरा नेपालका निम्ति रोग बनिसक्यो । यसरी मुलुक अगाडि बढ्दैन ।”