काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा नुवाकोटको १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौं ५ बाट नउठ्ने र गृह जिल्ला नुवाकोटको १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिनका लागि उनले काठमाडौं ५ छोड्न लागेका हुन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महत नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाडौं ५ मा पराजित भएका थिए । त्यसअघि भने यो क्षेत्रमा कांग्रेस नेता नरहरि आचार्यले एमालेका पोखरेललाई पराजित गरेका थिए ।
प्रकाशशरण महत अहिले काठमाडौं ५ मा उम्मेदवार नबन्ने नुवाकोट १ बाट उठ्ने तयारी भएको नुवाकोटका एक जिल्ला नेताले बताएका छन् ।नुवाकोट १ मा उनी उम्मेदवार बन्नका लागि डा. रामशरण महतलाई मनाउनुपर्दछ । देउवा निकट भएकाले उनलाई रामशरण महतलाई भन्दा टिकट पाउन सहज पनि छ ।
गृह जिल्लाबाट उम्मेदवार बन्ने तयारीमा रहेका महतले पछिल्लो समय नुवाकोट केन्द्रित कार्यक्रमलाई महत्व दिने गरेको पनि जिल्ला नेताहरु बताउँछन् । केही महिनाअघि उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नुवाकोट १ मा लगेर कार्यक्रम गरेका थिए ।
गत निर्वाचनमा एमालेका उम्मेदवार पोखरेलले २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका महतले १३ हजार १६९ मत ल्याई फराकिलो अन्तरले पराजित भएका थिए । महतले अहिले रोजेको नुवाकोट १ मा पनि कांग्रेस अघिल्लोपटक फराकिलो अन्तरले पराजित भएको थियो ।
माओवादी केन्द्रका हित बहादुर तामाङले ३६ हजार ४७३ मत ल्याउँदा कांग्रेसका उम्मेदवार डा। रामशरण महतले २७ हजार ९२० मत सहित पराजित भएका थिए ।
शिवपुरी,ककनी,पञ्चकन्या, तादी,सूर्यगढी र दुप्चेश्वर पालिका नुवाकोटको १ नम्बर क्षेत्रमा पर्दछन् । शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको छ ।
प्रकाशशरण महतले नुवाकोट रोजेपछि काठमाडौं–५ मा कांग्रेसबाट उम्मेदवार बन्ने आकांक्षीहरु देखिन समेत थालेका छन् । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र गोविन्द भट्टराईले काठमाडौं ५ मा आकांक्षा देखाएका छन् । पौडेल र भट्टराई दुबै तनहुँका हुन् ।
ती नेताका अनुसार नेताहरु कृष्णप्रसाद सिटौला र भीमसेनदास प्रधानले यस क्षेत्रमा प्रदीप पौडेललाई उम्मेदवार बनाउन चाहेका छन् । अर्कोतर्फ, उपसभापति पूर्णबहादुर खड्काले भट्टराईलाई उम्मेदवार बनाउन चाहेका छन् ।
काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका गगन थापालाई क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्न स्थानीय नेता तथा कार्यकर्ताले आग्रह गरेका थिए ।उनले आफ्नो क्षेत्र नछोड्ने अडान राखेपछि अन्य उम्मेदवारको खोजी भएको छ । क्षेत्रीय सभापति श्याम खड्का पनि काठमाडौं ५ को उम्मेदवारका आकांक्षी हुन् ।