Latest News

यी हुन् देउवा नेतृत्वको सरकारमा बन्न लागेका एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु

Nepalese Times June 5, 2022 (2 Year ago)    715 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २४ घण्टाभित्र मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ मन्त्री का–को बन्दै छन् भन्ने चर्चा सुरु भएको छ ।

आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।

मन्त्री फिर्ता बोलाउने निर्णय गर्ने अधिकार भने अध्यक्ष माधव नेपाललाई दिएको छ। पार्टीका तर्फबाट ६ महिनाका लागि मन्त्री बनाइएकाहरुको समयावधि नाघेको भन्दै बैठकमा समीक्षा भएको छ।

सचिवालय बैठकपछि एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले मन्त्रीहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल भएको बताउँदै निर्णय अधिकार अध्यक्ष नेपालसँग रहेको बताए।

उनले भने, – मन्त्रीका विषयमा सामान्य छलफल भएको छ। शीर्ष नेताहरुको बीचमा छलफल भएर उहाँहरुले कति उपयुक्त ठान्नुहुन्छ, त्यही अनुसार हुन्छ। खाशगरी अध्यक्ष कमरेडले यसबारे निर्णय लिनुहुन्छ।

‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू (शीर्ष नेता) ले नै गर्नुहुन्छ ।’

अहिले संघीय सरकारमा एक राज्यमन्त्रीसहित सो पार्टीबाट ५ जना मन्त्री छन् । आफूलाई मन्त्रीबाट हटाए पार्टी छाड्ने भन्ने केही मन्त्रीले चेतावनी दिइरहेको भन्ने चर्चाको विषयमा पत्रकारले सोधेको प्रश्नमा पार्टी निर्णय सबैले मान्नुपर्ने उपमहासचिव तुलाधरले बताए ।

हालसम्म मन्त्रीका रुपमा चर्चामा आएका नाममध्ये जीवनराम श्रेष्ठ, डा.खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, र निरादेवी जैरु अग्रपंक्तिमा रहेका छन् । यस्तै मुकुन्द न्यौपाने वा बेदुराम भुषालको नाम पनि नयाँ मन्त्रमी बन्ने चर्चामा रहेका छन् ।

अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङ छन् । उनीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने नेकपा एकीकृत समाजवादीले तयारी गरेको सम्मानित नेता खनालले बताए ।

तर नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकी रामकुमारी झाँक्रीले भने पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णयबारे आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएकी छिन् ।

समाजवादी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफुलाई फिर्ता बोलाउने निर्णयबारे कुनै जानकारी नभएको बताइन् । उनले भनिन्, “फिर्ता बोलाउने कुरा मलाई थाहा छैन । शीर्ष नेताहरुको निर्णय उहाँहरुलाई नै सोध्नुस् ।”

प्रतिक्रिया दिनुहोस