Latest News

एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने भएपछि मन्त्री झाँक्रीले दिइन् यस्तो प्रतिक्रिया

Nepalese Times June 5, 2022 (2 Year ago)    757 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको ६ महिनाभन्दा बढि समय व्यतित गरेकाहरुलाई तत्कालै फिर्ता बोलाउनेगरि एकीकृत समाजवादीले गृहकार्य थालेको छ।

तर नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकी रामकुमारी झाँक्रीले भने पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णयबारे आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएकी छिन् ।

समाजवादी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफुलाई फिर्ता बोलाउने निर्णयबारे कुनै जानकारी नभएको बताइन् । उनले भनिन्, “फिर्ता बोलाउने कुरा मलाई थाहा छैन । शीर्ष नेताहरुको निर्णय उहाँहरुलाई नै सोध्नुस् ।”

पार्टीको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार आजको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर भोलि नै निर्णय कार्यान्वयन हुने उनको भनाइ थियो ।

अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङ छन् ।

उनीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने पार्टीको तयारी रहेको खनालको भनाई छ । बन्दी भने स्वतन्त्रबाट मन्त्री बनेका हुन् । उनी हालै मन्त्री बनेका हुन् । सांसद नरहेका स्वतन्त्र व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक प्रावधान छ ।

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ, मेटमणि चौधरीलगायत नेताहरुलाई मन्त्रीबनाउने तयारी गरेको छ । यस्तै नेकपा एसको आज बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरको विषयले प्रवेश पाएको छ । हिजोदेखि चलिरहेको बैठकअन्तर्गत आज यो विषयले प्रवेश पाएको हो ।

सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको जानकारी दिँदै नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको बताए ।

‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू ९शीर्ष नेता० ले नै गर्नुहुन्छ ।’

अहिले संघीय सरकारमा एक राज्यमन्त्रीसहित सो पार्टीबाट ५ जना मन्त्री छन् । आफूलाई मन्त्रीबाट हटाए पार्टी छाड्ने भन्ने केही मन्त्रीले चेतावनी दिइरहेको भन्ने चर्चाको विषयमा पत्रकारले सोधेको प्रश्नमा पार्टी निर्णय सबैले मान्नुपर्ने उपमहासचिव तुलाधरले बताए ।

प्रतिक्रिया दिनुहोस