काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने टिप्पणी गरेका छन् ।
एमाले नेता घनश्याम भूसाललाई कारबाहीको सिफारिस गर्ने कदम ठिक नभएको भन्दै उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्याउने बताएका हुन् ।
पार्टीको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिसको निर्णय गरेका बेला योगेशले सांकेतिक रुपमा असन्तुष्टि जनाएका हुन्। यस्तो निर्णयले पार्टीलाई सही ठाउँमा नपुर्याउने उनको चिन्ता छ।
अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै उनले आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा नपुर्याउने भन्दै भने, ‘फेरि पनि बादे बादे जायते तत्व बोध।’
एमालेमा भट्टराई र भुसाल १० बुँदे सहमति पक्षधर हुन्। यी दुईसहित १० जना नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै रहेका थिए। १० भाइमध्ये डा. भीम रावल र भुसाल नेतृत्वलाई चुनौती दिँदै विधि पद्धतीका लागि भन्दै आफ्नो धारणा राख्दै आएका छन्।
अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा भूषाललाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए उनलाई कारबाही गर्ने निर्णय भएको आयोगका अध्यक्ष केशव बडालले बताएका छन् ।
स्थानीय तह चुनावको परिणाम सार्वजनिक भएलगत्तै नेता भूसालले एक टेलिभिजनमा कुराकानी गर्दै अध्यक्ष केपी ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र लिएको नीतिको विषयमा आलोचना गरेका थिए ।
भुषालले टेलिभिजनमा दिएको अन्तर्वार्तामा गम्भीर विषयहरु रहेका र त्यस विषयमा विधिवत, संस्थागत रुपमा निर्णय गरेर पार्टी केन्द्रमा पठाइएको अनुशासन आयोगका अध्यक्ष केशव बडालले बताए ।
बडालले भने, ‘एक जनाको मात्रै हो । अन्यको बारेमा नामको समेत चर्चा भएको छैन । यो पार्टीको आन्तरिक विषय हो ।’ अनुशासन आयोगको बुधबार बसेको बैठकले भूसालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
अन्तर्वार्ताको क्रममा नेता भूसालले स्थानीय तहको चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति अध्यक्ष ओलीको नीति र कार्यशैली जिम्मेवार रहेको बताएका थिए ।
चुनावी नतिजा आएपछि उनले त्यस परिस्थितिमा अध्यक्ष ओलीले राजीनामा दिनु उपयुक्त हुने समेत बताएका थिए । भूसाल एमाले अध्यक्ष केपी ओलीको नीति र पार्टी सञ्चालन विधिको आलोचकका रुपमा चिनिदै आएका छन् ।