Latest News

प्रचण्डले कांग्रेसलाई पनि ठेगान लगाइदिने चेतावनी दिएकोप्रति प्रवक्ता महतले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 3, 2022 (2 Year ago)    617 Views

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने प्रतिक्रिया दिएका छन् ।

नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने भनेका हुन् ।

गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गर्दै उनले स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको बताए ।

कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उनले गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताए।

हालै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रशिक्षणका क्रममा बोलेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन, दाहालले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो होला, त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन।’

सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले यस्तो कुरा बताएका हुन् ।

केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएका थिए । प्रचण्डको सोही कुरालाई थर्काएको भनेर बुझ्न नमिल्ने उनले बताए ।

कांग्रेसले वास्तविकताको धरातलमा उभिएर राजनीति गर्ने उनले बताए । कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको भन्दै उनले कांग्रेस सभापति आफू नै सर्वेसर्वा भनेर नहिँडेको बताए ।

आउने जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठबन्धनका दलबीच सहमति भएको भन्दै उनले सोही निर्णयानुसार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए।

उनले गठबन्धनका नेताबीचमा भएका सहमति प्रतिबद्ध भएर पालना गर्न आग्रह गर्दै कहीँकतै अपवादका रुपमा गठबन्धन विरोधी गतिविधि भएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस