Latest News

कांग्रेस र एमालेबीच गठबन्धन गरेर कार्यपालिकामा प्यानलै विजयी

Nepalese Times June 3, 2022 (2 Year ago)    1022 Views

काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच गठबन्धन गरेर कार्यपालिका सदस्यको प्यानलै विजयी भएको छ ।

एमाले–काँग्रेसको गठबन्धनपछि भएको कार्यपालिका चुनावबाट आठ जना उम्मेदवार विजयी भएका हुन् । निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीका अनुसार कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ जना र एमाले पार्टीका ३ जना निर्वाचित भएका छन् ।

कार्यपालिका सदस्यको जिम्मेवारी पाउने महिला सदस्यहरूमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खातुन,कमली देवी,समसुन नेसा रहेकी छन् ।

त्यस्तै दलित तथा अल्पसङ्ख्यकबाट लक्ष्मी नारायण राम, तेजीलाल साह, उपेन्द्र महरा निर्वाचित भएको निर्वाचन अधिकृत उप्रेतीले जानकारी गराए । गठबन्धनका कारण लोसपा र समाजवादीका उमेदवार पराजित हुन पुगे ।

यस्तै रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ । शुक्रबार ५ जना महिला र ३ जना दलित तथा अल्पसंख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए ।

निर्वाचनबाट एमालेका टेकबहादुर विश्वकर्मा, डोलबहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मिरा क्षेत्री र सीता थारु निर्वाचित भएका निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले जानकारी दिए ।

सैनामैनाको १७ सदस्यीय कार्यपालिकामा एमालेका १२ जना, नेपाली कांग्रेसका ४ जना र नेकपा माओवादी केन्द्रका एक जना रहेका छन् । नेपाली कांग्रेसबाट नगर प्रमुख र ३ जना वडा अध्यक्ष तथा माओवादी केन्द्रका एक वडाध्यक्ष रहेका छन् ।

यसैगरी ६० सदस्यीय नगरसभामा एमाले ४३ मतका साथ बहुमतमा छ ।

प्रतिक्रिया दिनुहोस