Latest News

यस्तो छ मेयर बालेन साहको पहिलो निर्णय

Nepalese Times May 30, 2022 (2 Year ago)    544 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् ।

नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने साहले बताए ।

साथै काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने उनले बताएका छन् । फोहोर व्यवस्थापन आफ्नो प्राथमिकता भएको भन्दै उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’

उनले अघि भने, ‘फोहोर व्यवस्थापन नभएसम्म, सिसडोलवासी स्वच्छ वातावरणमा बस्ने वातावरण नभएसम्म, बाँच्न पाउने अधिकार नभएसम्म अरु नगर्ने भनेका छौं ।’ यसका लागि समय कति लाग्ला भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘पत्रकारहरले हाम्रो कुरा बुझ्न कति लाग्ला ?’

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित साहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे ।

प्रमुख साहसँग उपप्रमुख सुनिता डंगोलले भने नेपाल भाषामा सपथ लिएकी थिइन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराइएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । शपथपछि सोमबार प्रमुख साह र उपप्रमुख सुनिता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्दैछन् ।

को हुन् बालेन साह ?

३१ वर्षीय बालेन्द्र साह उर्फ बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी ¥यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ ।

काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् । २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।

नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, –यापर तथा कवि–लेखक साहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ । विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका छन् । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागे ।

निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी साहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए । साहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।

उनले काठमाडौंको मेयरमा उमेद्वारी दिने गरी तयारी ५ बर्ष अगाडीदेखी नै गरेका थिए, यो विचमा उनले घरबेटीसँग बालेन, अबको काठमाडौं जस्ता लोकप्रिय अभियानहरुसमेत संचालन गरे । बाहिरबाट काठमाडौं पढ्न गएका विद्यार्थी नै उनका लागी सबैभन्दा चुनाव प्रचारका मुख्य स्रोत थिए ।

‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ । थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु,’ उनी भन्छन्, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ । समग्रमा एउटा शहर, गाउँ र देश चलाउनलाई जे–जे काम गरिन्छ, त्यो कुरामा संलग्न हुँदै आएको छु ।’

भौतिक पूर्वाधार निर्माणको योजना त छँदैछन्, यसमध्ये पनि बालेनको प्राथमिकतामा परेको छ काठमाडौंको सडक । सडक सुधारेर काठमाडौं सुधार्ने उनको योजनामा सहयोगी हुनेछन् विद्युतीय सवारी साधन ।

उनी भन्छन्, ‘हामीले विस्तारै काठमाडौं उपत्यकालाई नै २४ घन्टा खोल्नुपर्छ भनेका छौं । रेष्टुरेन्टहरूसँगै सरकारी कार्यालय पनि बेलुकीसम्म खुल्छन् । अनि सेवाग्राही राति आउँछन् र विद्युतीय बस चढेर जान्छन् । यसबाट जाम पनि घट्छ ।’ वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेन साह बन्न सफल भएका छन्

प्रतिक्रिया दिनुहोस