Latest News

आजसम्म भरेका सबै सवारी लाइसेन्सका आवेदन रद्ध, यसरी भर्नुस् नयाँ फारम

Nepalese Times May 30, 2022 (2 Year ago)    564 Views

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र लिनका लागि यसअघि परेका सबै अनलाइन आवेदनहरू रद्ध भएका छन्। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सोमबार(आज) साँझबाट नयाँ अनलाइन प्रणाली सुरु हुने जानकारी दिएको छ।

‘सवारी चालक अनुमति पत्र (नयाँ तथा वर्ग थप) गर्नका लागि हालसम्म परेको अनलाइन आवेदन आजदेखि रद्द गरी जेठ १६ गते सोमवार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली शुरू हुने भएकाले नयाँ सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि अप्लाईडीआई डट डओटीएम डट जीओभी डट एनपीमा लगइन गरी नयाँ आवेदन फारम भर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ,’ विभागले जारी सूचनामा भनिएको छ।

त्यस्तै वर्ग थप गराउन चाहने सेवाग्राहीको लागि आवेदन अर्को हप्ताको सोमबारबाट खुला गरिने विभागले जनाएको छ। विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुनेछ ।

यस्तै एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५० हजार कार्ड वितरण गर्न बाँकी रहेको छ । धेरै चालकले अनुमतिपत्र नपाएको गुनासो गरिरहँदा छापिसकेको चालक अनुमतिपत्र भने लिन सेवाग्राही कार्यालय पुगेका छैनन् ।

छापिसकेका कार्ड लिन सेवाग्राही नआउँदा कार्यालयलाई व्यवस्थापन गर्न कठीन भएको कार्यलयले जनाएको छ । कार्यलयका अनुसार दैनिक सेवाग्राही कार्ड लिन आउँदा तीनै कार्ड पल्टाएर खोज्नुपर्नै अवस्था छ । दुई वर्ष वा त्योभन्दा पहिले छापिएका कार्डसमेत कार्यालयमा त्यसै थन्किएको छ ।

कार्यालयमा एकाथरी सेवाग्राही कार्ड नछापिएको भन्दै गुनासो गर्न आइपुग्ने गरेका छन् । उनीहरु दैनिक ‘मेरो कार्ड छापियो कि छैन’ भन्दै आउने गरेका छन् भने कार्ड छापिसकेका सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठिन हुने गरेको कार्यलयले जनाएको छ । देशभरमा झण्डै साढे सात लाख चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

त्यसमध्ये सबैभन्दा बढी सङ्ख्यामा चालक अनुमतिपत्र वितरण गर्न बाँकी यही कार्यालयको रहेको छ । कार्यालयले विभागले छापिसकेको कार्ड दैनिक ल्याएर सकेसम्म चाँडो वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।

संविधानका अनुसार यातायातको व्यवस्थानको जिम्मेवारी प्रदेशसरकारको हो । प्रदेश सरकार आफैँले ‘प्रिन्टर’ खरीद गरेर छपाइ गर्न शुरु नगरेकाले अहिलेसम्म विभागले नै देशभरका प्रदेश कार्यालयको चालक अनुमतिपत्र छाप्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस