Latest News

तारा एयरको विमानमा एकै परिवारका ७ जना रहेको पुष्टि, यी हुन् उनीहरु (सूचीसहित)

Nepalese Times May 30, 2022 (2 Year ago)    689 Views

काठमाडाैं । हिजाे (आइतबार) बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सात जना रहेको पुष्टि भएको छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन छ ।

सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।

विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।

गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान बेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने गाउँमा नै चिन्तित भएका छन् ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार रहेको जनाइएको छ ।

तारा एयरको सो विमान अन्तिम सम्पर्कको ६ मिनेटपछि अतवरण हुने अवस्थामा थियो । जोमसोम एयरपोर्टका एयर ट्राफिक कन्ट्रोलर (एडिसी) ले मौसम ठिक छ र हावा ठिक छ भनेर सूचना दिइससकेका थिए ।

त्यसअघि समिट एयरको जहाज जोमसोममा अवतरण भइसकेको थियो । जोमसोम भ्याली प्रवेशको अनुमति पाइलट प्रभाकर घिमिरेले मागिसकेका थिए । पाइलट घिमिरेले मौसमको बारेमा कुरा गर्दा जोमसोम एयरपोर्टले ल्याण्ड गर्न सक्ने अनुमति दिइसकेको थियो ।

सो जहाज १०ः१७ मा अवतरण गर्ने समय तालिका थियो । जहाज सम्पर्क नभएपछि ५/७ मिनेटपछि जोमसोम एयरपोर्टमा हल्लाखल्ला बढ्यो । त्यसपछि खोजीकार्य सुरु भयो ।

सोअघि प्रभाकरबीच आफ्नो कुरा भइरहेको समिट एयरका पाइलट अभिनन्दन खड्काले बताए । उनले साथी मिसिङ भएको, म धेरै बोल्न चाहन्नँ । तर मौसम भने खराब थिएन । उनी तत्कालै पोखरा पुग्न सक्थे, जहाज हराएको सूचनापछि खड्का जोससोममै रहेह।

समिटको अर्को जहाज पोखराबाट उडे पनि जहाज मिसिङ भएको खबरले बीचबाटै फर्किएको थियो । आइतबार पोखरा–जोमसोम तीन उडान भएका हुन् ।

तीमध्ये ताराको जहाज कम्पनीको तर्फबाट पहिलो र पोखरा नागरिक उड्डयन कार्यालयका तर्फबाट तेस्रो उडान रहेको पोखरा नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।

तस्बिर : गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस