Latest News

यी हुन् सम्पर्कविहीन जहाज उडाउने पाइलट र को-पाइलट

Nepalese Times May 29, 2022 (2 Year ago)    938 Views

काठमाडौं । आज बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म फेला परेको छैन। जहाजमा चालक दलका तीनजना सदस्य र १९ जना यात्रु छन्। ताराको ९ एन एईटी ट्वीनअटर विमानका चालक प्रभाकर घिमिरे हुन्। नेपाली अकाशमा लामो समय उडान गरेको अनुभव उनीसँग छ। उनी इन्स्ट्रक्टर पाइलटसमेत हुन्।

विमानका को–पाइलट भने उत्सव पोखरेल हुन्। २५ वर्षीय पोखरेल रुकुम पश्चिम चौरहजारी नगरपालिकाका हुन्। अविवाहित पाखेरेल फिलिफिन्सको रोयल फ्याई एकेडिमीबाट ग्राजुएट गरेर एक वर्ष अघिमात्रै नेपाल फर्किएका थिए।

उनले ३० अप्रिल २०२१ देखि तारा एयरको जहाज उडाउन थालेको बताइएको छ। उनका दाइ उदीप पनि हाल पाइलट तालिमकै लागि फिलिपिन्समा रहेको पारिवारिक स्रोतले जनाइको छ। उत्सवका आमाबुबा भने जाजरकोटस्थित एक सरकारी विद्यालयका शिक्षक हुन्।

सम्पर्कविहीन जहाजमा ६ जना विदेशीसहित २२ जना सवार छन्। विमानको खोजीका लागि नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टर प्रयोग गरिएको छ। तर, अझै विमान फेला परेको छैन।

जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए। ‘समिटको जहाज ल्यान्ड भयो। पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले भने,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन्।’ समिट एयरले आजै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो। जोमसोम जाने जहाज लेतेको आकाशमाथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन्।

फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसासिखा क्षेत्रबाट हराएको देखिन्छ।

अधिकारीहरूले जहाज लेतेदेखि टुकुचेको बिचमा हराइरहेको हुनसक्ने आशंका गरेका छन्। लेते थासाङ गाउँपालिकामा पर्छ। थासाङका अध्यक्ष प्रदीप गौचनले लेतेदेखि टुकुचेको बीचमा मौसम खराब भएकाले जहाज त्यहीँ हराएको हुन सक्ने बताए। ‘लेतेदेखि टुकुचेबीच निकै बादल लागेको छ। अहिले यहाँ सिमसिम पानी पनि परिरहेको छ,’ गौचनले भने।

जहाजको खोजीका लागि नेपाली सेना र अरू निजी कम्पनीका हेलिकप्टर परिचालन गरिएको छ। बादल लागेको र सिमसिम पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको छ। नेपाली सेनाले जहाजको खोजीका लागि पैदल पनि टोली पठाएको छ।

काठमाडौंस्थित भारतीय दूतावासले जहाजमा आफ्ना चार नागरिक रहेको भन्दै उनीहरूको परिवारसँग सम्पर्कमा रहेको बताएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार क्याप्टेन घिमिरेको मोबाइलमा अहिले पनि घन्टी गइरहेको छ। ‘फिस्टेलको हेलिकप्टरबाट खोजी जारी राखेका छौं। पोखराबाट नेपाली सेनाको हेलिकप्टर पनि मुस्ताङतर्फ आउँदैछ। अहिले मौसम केही सफा भएको छ,’ शर्माले भने, ‘पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गएको हुनाले उक्त मोबाइल ट्र्याक गरेर त्यो लोकेसनमा खोजी गर्दैछौं।’

‘विमान र यात्रुको अवस्थाबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन’, शर्माले भने, ‘सबै ठाउँमा सम्पर्क भइरहेको छ। तर, यथार्थ अवस्था खुलिसकेको छैन।’ जहाज थासाङ गाउँपालिका आसपास पुगेपछि बाक्लो कुहिरोमा परेर हराएको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस