काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन् । देउवालाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री निवास बालुवाटार जाने भएका हुन् ।
बाग्मती प्रदेशको मन्त्रिपरिषद् फेरबदल, स्थानीय तहको चुनावको समिक्षालगायत विषयमा छलफल गर्न माधव नेपाल प्रधानमन्त्री निवास बालुवाटार जान लागेका एक नेताले बताए ।
एसका अध्यक्ष नेपाल बालुवाटार जाने मिति र समय भने तय भईसकेको छैन । नेपालले स्थानीय तहको चुनाव सकिएलगत्तै नेपाली कांग्रेसले धोका दिएकोले यसबारे गम्भीर समिक्षा हुनुपर्ने भन्दै आएका छन् ।
यस्तै बागमती प्रदेशमा मन्त्रिपरिषद् हेरफेर हुने भएको छ । यसबारे पनि देउवा र माधव नेपालबीच छलफल हुनेछ । बागमती प्रदेशको बजेट सार्वजनिक भएलगत्तै मन्त्रिपरिषद् हेरफेरको तयारी भएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्रीको जिम्मेवारी दिनेगरी मन्त्रिपरिषद् हेरफेरको तयारी भएको हो । पाँच दलीय सत्ता गठबन्धनबीच यसअघि भएको सहमतिअनुसार बानियाँ मुख्यमन्त्री बन्न लागेका हुन् ।
प्रदेश सरकारले बजेट सार्वजनिक गरेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिनेछन् । त्यसपछि बानियाँ नयाँ मुख्यमन्त्री बन्नेछन् । प्रदेश सरकारले १ असारभित्र बजेट प्रदेशसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
सरकारको पदावधि एक वर्ष बाँकी रहँदा गत ११ कात्तिकमा नेकपा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए । त्यसबेला आधा(आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
बानियाँ यसअघि पनि मुख्यमन्त्रीको होडमा थिए । नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । त्यससँगै बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो ।
तर‚ गठबन्धनको भागबण्डामा मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा पर्यो । सोहीअनुसार पाण्डे मुख्यमन्त्री भए । प्रदेश सभामा अहिले १ सय ९ सांसद छन् ।