काठमाडौं । काठमाडौँ महानगपालिको मेयरमा जित निश्चित गरेका बालेन्द्र शाहले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले स्थानीय तह निर्वाचन २०७९ मा आफूलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद दिएका हुन् ।
काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले आफूहलाई विश्वास गरेको भन्दै उनले विश्वासमा जीत वा हार नहुँने बताएका छन् ।
काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवार दिएका बालेन मत गणनाको अग्रस्थानमा थिए। उनले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतले पछाडि पार्दै जित नजिक पुगेका हुन्।
घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने तर तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगर्न उनले आग्रह गरेका छन् ।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने भएको र बहुमत नभएको भन्दै उनले आफ्नो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउने र यसको अर्थ बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गरेको बताए ।
मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्ने भन्दै उनले महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गरिने बताए ।
उनले भनेका छन्, ‘दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ। हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ।’
उनले भनेका छन्, ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाईँ रहेकै क्षेत्रमा ुधन्यवाद र्याली गर्नु होला। त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ। नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ। ुबालेनुहरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ। यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ।
अबको बाटो सहज छैन। हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ। हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ।
हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको। हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला। अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ। तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ। हरेक टोलटोल र गाउँगाउँमा बालेनुहरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन्। अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ। मिलेर अगाडी बढौँ।