Latest News

भारी मतसहित काठमाडौंको मेयरमा बालेन साह विजयी, को हुन् बालेन ?

Nepalese Times May 25, 2022 (2 Year ago)    823 Views

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको विजयी भएका छन् । मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका शाह धेरै मतान्तरका साथ महानगरपालिकाको मेयर पदमा विजयी भएका हुन् । अझैं केहि गन्न बाँकी रहँदै बालेन विजयी भएका हुन्। उनलाई विजयी भएको औपचारिक घोषणा हुन् भने बाँकी नै रहेको छ।

जम्मा गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन्। सिंहले आफुले हार स्विकारेको बताएकी छन्। बलेनको जित सुनश्चित भएपछि उनले यस्तो बताएकी हुन्।

बालेन र सिर्जनाबीच २० हजार ११० मतान्तर रहेको छ। अब २० हजार मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन्।

को हुन् बालेन साह ?

३१ वर्षीय बालेन्द्र साह उर्फ बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी ¥यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ ।

काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् । २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।

नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, –यापर तथा कवि–लेखक साहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ । विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका छन् । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागे ।

निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी साहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए । साहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।

उनले काठमाडौंको मेयरमा उमेद्वारी दिने गरी तयारी ५ बर्ष अगाडीदेखी नै गरेका थिए, यो विचमा उनले घरबेटीसँग बालेन, अबको काठमाडौं जस्ता लोकप्रिय अभियानहरुसमेत संचालन गरे । बाहिरबाट काठमाडौं पढ्न गएका विद्यार्थी नै उनका लागी सबैभन्दा चुनाव प्रचारका मुख्य स्रोत थिए ।

‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ । थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु,’ उनी भन्छन्, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ । समग्रमा एउटा शहर, गाउँ र देश चलाउनलाई जे–जे काम गरिन्छ, त्यो कुरामा संलग्न हुँदै आएको छु ।’

भौतिक पूर्वाधार निर्माणको योजना त छँदैछन्, यसमध्ये पनि बालेनको प्राथमिकतामा परेको छ काठमाडौंको सडक । सडक सुधारेर काठमाडौं सुधार्ने उनको योजनामा सहयोगी हुनेछन् विद्युतीय सवारी साधन ।

उनी भन्छन्, ‘हामीले विस्तारै काठमाडौं उपत्यकालाई नै २४ घन्टा खोल्नुपर्छ भनेका छौं । रेष्टुरेन्टहरूसँगै सरकारी कार्यालय पनि बेलुकीसम्म खुल्छन् । अनि सेवाग्राही राति आउँछन् र विद्युतीय बस चढेर जान्छन् । यसबाट जाम पनि घट्छ ।’ वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेन साह बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस