Latest News

काठमाडौंको उपमेयरमा सुनिता डंगोल भारी मतले विजयी, नेकपा एसको लज्जास्पद हार

Nepalese Times May 25, 2022 (2 Year ago)    752 Views

काठमाडौं ।  काठमाडौं महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको विजयी भएकी छन् । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनी विजयी भएकी हुन् । तर औपचारिक घोषणा भने हुन् बाँकी रहेको छ।

काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरुबीच करिब ४० हजारको मतान्तर छ ।

अब गणना हुन करिब २४ हजार मत सबै श्रेष्ठलाई गए पनि डंगोलले जित्नेछिन् । मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चितप्रायः भएको छ ।

अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

उपप्रमुखमा राप्रपाका उम्मेदवार बिनिता मगैया ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छिन्। काठमाडौंमा कुल ३ लाख २ सय ४२ मतदातामध्ये १ लाख ९० हजार १ सय ७० ले मतदान गरेका थिए।

यस्तै काठमाडौं महानगर–१९ को वडाध्यक्षमा नेपाली कांग्रेसले बाजी मारेको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारको भन्दा दोब्बर मत ल्याएर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १२०० मत पाए भने मुनिकार ७४१ मा सीमित भए ।

यो वडाबाट महानगरको मेयरका लागि कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । परिणामअनुसार कांग्रेसकी सिर्जना सिंहले ७८१ मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ७०२ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारद्वय बालेन साह र सुमन सायमीले क्रमशः ६५४ र ४४५ मत प्राप्त गरेका छन् ।अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।

यस्तै ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी भएका छन् ।

प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाए । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भइन् ।

प्रतिक्रिया दिनुहोस