Latest News

बालेन साह एकाबिहानै पुगे मतगणनास्थल, मेयर जित्न सफल भएको भन्दै बधाईको ओहिरो (मतपरिणामसहित)

Nepalese Times May 25, 2022 (2 Year ago)    942 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह एकाबिहानै मतगणना स्थल पुगेका छन् । उनी मतगणनास्थल भृकुटीमण्डप पुग्नेवित्तिकै उनका समर्थक र शुभचिन्तकले बधाई दिएका छन् ।

मत गणनाको पछिल्लो परिणाम अनुसार बालेन साहले ५४७३९ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत र एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

यस्तै काठमाडौं महानगरपालिकाका ३२ मध्ये २८ वडाको अन्तिम परिणाम आइसकेको छ भने पाँच वडाको गणना जारी छ । मतगणना भइरहेका पाँचै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा प्रत्यासीभन्दा दोब्बर मतले अगाडि छन् ।

यस्तै  उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८ सय ९ मत प्राप्त गरेकी छिन्। उनलाई पछ्याएका गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा राप्रपाका उम्मेदवार बिनिता मगैया ९ हजार १ सय ६१ मत प्राप्त गरेकी छिन्। काठमाडौंमा कुल ३ लाख २ सय ४२ मतदातामध्ये १ लाख ९० हजार १ सय ७० ले मतदान गरेका थिए।

यस्तै काठमाडौं महानगर–१९ को वडाध्यक्षमा नेपाली कांग्रेसले बाजी मारेको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारको भन्दा दोब्बर मत ल्याएर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १२०० मत पाए भने मुनिकार ७४१ मा सीमित भए ।

यो वडाबाट महानगरको मेयरका लागि कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । परिणामअनुसार कांग्रेसकी सिर्जना सिंहले ७८१ मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ७०२ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारद्वय बालेन साह र सुमन सायमीले क्रमशः ६५४ र ४४५ मत प्राप्त गरेका छन् ।अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।

यस्तै ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी भएका छन् ।

प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाए । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भइन् ।

प्रतिक्रिया दिनुहोस