Latest News

यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका, यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times May 24, 2022 (2 Year ago)    877 Views

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न १२ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार मङ्गलबार साँझ ७ बजेसम्ममा ७५३ मध्ये ७४१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मत गणना कार्य सम्पन्न भएपनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा बाग्मती प्रदेशको काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, गण्डकी प्रदेशको पोखरा महानगरपालिका, प्रदेश नं १ को उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, मधेस प्रदेशको रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, लुम्बिनी प्रदेशको दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेको छ ।

सुदूरपश्चिममा बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी छ । आयोगको निर्णयपछि उदयपुरको त्रियुगामा आजदेखि मत गणना सुरु भएको छ ।

यस्तै काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ को गणना भइरहेको छ । अहिले सुरुवाती १०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । उनले २७ मत पाएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १९ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले १५ मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले १६ मत पाएका छन् ।

राप्रपालाई ४ र तराजुलाई १ मत परेको छ भने, ९ मत बदर भएको छ । अहिले वडा नम्बर १३ देखि २० सम्म नै गणना सुरु भएको छ ।२१ को गणना सकिएको छ । वडा नम्बर १७ मा जारी छ । सबैभन्दा बढी मत खसेको वडा नम्बर १६ को २ ठाउँबाट गणना हुँदै छ । त्यहाँ १२३३६ मत खसेको थियो ।

काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणनामा उनले ५१ हजार ५ सय ९६ मत पुर्‍याएका छन्। त्यस्तै, गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ४ सय ३० मत ल्याएकी छन्।

नेकपा एमालेका केशव स्थापितले ३१ हजार ८ सय ५६ मत ल्याएका छन्। अहिलेसम्म १ लाख ५७ हजार ३ सय १० मतगणना भइसकेको छ।

प्रतिक्रिया दिनुहोस