काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतगणनामा उनले ५१ हजार ५ सय ९६ मत पुर्याएका छन्। त्यस्तै, गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ४ सय ३० मत ल्याएकी छन्।
नेकपा एमालेका केशव स्थापितले ३१ हजार ८ सय ५६ मत ल्याएका छन्। अहिलेसम्म १ लाख ५७ हजार ३ सय १० मतगणना भइसकेको छ।
यस्तै ललितपुर महानगरपालिकामा पुनः निर्वाचित भएका चिरिबाबु महर्जने पहिलो कार्यकालभन्दा पनि बढी काम गरेर देखाउने घोषणा गरेका छन् ।
मंगलबार मेयरमा दोस्रो कार्यकालको लागि निर्वाचित भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले पहिलो कार्यकालभन्दा बढी काम गरी देखाउने बताएका हुन् ।
आफूहरु नगरबासीको भलाइको निमित्त, नगरको विकासको निमित्त आएको भन्दै उनले आफूहरु यसमा कुनै पनि किसिमको भेदभाव नगरीकन काम गरी देखाउने बताए ।
गएको कार्यकालमा पनि विभिन्न किसिमका राजनीतिक दलका प्रतिनिधिहरू रहेको भन्दै उनले तर पनि हामीले पाँच वर्षको दौरान हामीले तपाईंहरूले सम्झिने किसिमले काम गरेर देखाइएको बताए ।
उनले त्यो अनुभवलाई साँचेर पाँच वर्षको दौरानमा हामीले के गर्यौं त्योभन्दा पनि अझ बढी काम गरेर देखाउँने भन्दै जति सक्दो धेरै काम गरेर देखाउँने बताए ।
यस्तै मेयर–उपमेयरमा फरक राजनीतिक दलका प्रतिनिधि चुनिए पनि मिलेर नै काम गर्ने भन्दै उनले भने, ‘ ‘नगरको विकासको सन्दर्भमा हाम्रो बीचमा त्यस्तो किसिमको द्विविधा नरहला। हामी दुई जना पृथक राजनीतिक धरातलबाट आएको भए पनि चुनावमा जितिसकेपछि ललितपुरको महानगरपालिकाबासीको प्रतिनिधि हौं। हाम्रो निमित्त को कंग्रेस को एमाले ।’
यस्तै उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्।