Latest News

काठमाडौं–१३ मा मतगणना चल्दाचल्दै सुमन सायमीले एक्कासी मारे छलाङ, बालेनले पछ्याउँदै

Nepalese Times May 24, 2022 (2 Year ago)    862 Views

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर १३ को मत गणना चलिरहेको छ । जारी मतगणनामा २ स्वतन्त्र उम्मेदवार सबैभन्दा अगाडि छन् । आँखिझ्याल चुनावचिन्ह लिएर लडेका सुमन सायमीले यस वडामा अग्रता लिएका हुन् । यो सायमीको घर भएको वडा हो ।

हालसम्म ४ हजार ६ सय ९० मत गणना भइसक्दा आँखिझ्यालले सर्वाधिक ११३२ भोट पाएको छ भने दोस्रोमा अर्का स्वतन्त्र उम्मेदवार बालेन साह छन् । उनको लौरोमा १०६३ भोट आएको छ ।

एमाले र कांग्रेस यस वडामा क्रमशः तेस्रो र चौंथो स्थानमा छन् । एमालेका केशव स्थापितले ९०४ भोट ल्याएँदा कांग्रेसकी सिर्जना सिंहको ६८० भोट आएको छ ।

मेयर पदमा स्वतन्त्र उम्मेदवार सुमन सायमीले ल्याएको भोटले मत गणनाको अन्तिम समयमा आएर धेरैलाई आश्चर्यमा पारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा जस्ता स्थापित पार्टीका उम्मेदवारहरूलाई उनले पछाडि छोडेका छन् ।

राप्रपाका मदनदास श्रेष्ठ र विवेकशीलकी समीक्षा बास्कोटा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । अघिल्लोपटक विवेकशील र साझा पार्टीका उम्मेदवारहरुले कुल मिलाएर ४२ हजारभन्दा बढी भोट ल्याएका थिए । यसपाली समीक्षाले हजार भोट कटाउन मुस्किल पर्ने देखिएको छ । यस्तोमा सुमन सायमीले कसरी ल्याए यत्रो भोट भन्ने धेरैलाई कौतुहल हुन सक्छ ।

चुनावअघि सायमी उनी खासै चर्चामा थिएनन् । उनले लामो तयारी गरेर चुनावमा होमिएका पनि होइनन् । ३० दिन अगाडि मात्रै आफ्नो राजनीतिक यात्रा सुरु भएको सायमी बताउँछन् ।

उनले १२ वैशाखमा आफ्नो उम्मेदवारीको घोषणा गरेका थिए । १७ गते चुनावचिन्ह आँखिझ्याल पाएपछि बल्ल भोट माग्न हिँडे । मुस्किलले १५ दिन आफ्नो चुनावचिन्हमा भोट माग्न पाए उनले ।

आफूलाई जनताले काम हेरेर भोट दिएको बताउँछन् सायमी । काठमाडौंको भूमि तथा सम्पदा संरक्षण र काठमाडौंवासीको घरबास बचाउन निरन्तर लगिरहेका उनी आगामी संसदीय चुनाव लड्ने सोचमा थिए । तर, अचानक स्थानीय चुनावमै उम्मेदवारी दिए । किन त ?

सायमीले सुनाए, ‘जब ठूला दलका उम्मेदवारहरूको नाम बाहिर आयो, त्यसले मलाई एकदमै निराश भनायो । कांग्रेसका सिर्जना सिंह र एमालेका केशव स्थापितलाई काठमाडौंवासीले के आधारमा भोट दिने ? मलाई पटक्कै चित्त बुझेन र आफैं मैदानमा आउने निर्णय लिएको हुँ ।’

 

प्रतिक्रिया दिनुहोस