काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्कराज साम्पाङले पदभार ग्रहण गरेका छन्।
मंगलबार उपमहानगरको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै उनले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।
उनको निर्णय अनुसार उपप्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलको सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री एकजना, सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष वा निजले तोकेका प्रतिनिधि र राजश्व महाशाखा प्रमुख सदस्य सचिव रहने छन्।
वरिष्ठ राजश्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले पेश गरेको राजश्व अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव प्रमुख राईले सदर गरेका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् ।
राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् ।
धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । २० हजार ५१० मत ल्याएर बेघा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाए ।