Latest News

अन्तिम समयमा आएर पोखराको मतगणना स्थलमा तनाव, धनराजले विजय जुलुस निकाल्दै गर्दा पर्यो उजुरी

Nepalese Times May 24, 2022 (2 Year ago)    580 Views

काठमाडौं । पोखरा महानगरपालिकाको मतगणना अन्तिम समयमा आएर स्थगित भएको छ । नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ ।

अहिले मतगणना रोकिएको जानकारी मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले जनाएको छ । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न माग गरेको हो ।

नेकपा एमालेले पोखरा १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ । पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।

यस्तै कास्कीको पोखरा महानगरपालिकाको मेयरमा विजयी भएपछि धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने घोषणा गरेका छन् ।

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेका आचार्यले मेयरमा विजयी बनेपछि यस्तो बताएका हुन् ।

शपथग्रहण पछिको पहिलो निर्णय जन्मदेखि मृत्युसम्मका रजिस्ट्रेसन गर्नुपर्ने कुराहरुलाई ६ महिनाको समयावधि भित्र निःशुल्क बनाउने निर्णय गर्ने आचार्यले घोषणा गरेका छन् । उनले शपथग्रहणको दिन पहिलो निर्णयका रुपमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रस्ताव गर्ने पनि जानकारी दिए ।

उनले महानगरपालिकाका हरेक निर्णय पोखरावासीको जीवनस्तरलाई सरल बनाउने किसिमका हुने दाबी गरे । उनले चुनावी प्रतिष्पर्धामा विभिन्न पार्टीबाट आएपनि निर्वाचित भएपछि सबै एउटै टिमको भएकोले अब पोखराको अभिभावक भएर काम गर्ने र सबै निर्णयहरु भरसक सर्वसम्मत गर्ने बताए ।

उनले कसैको स्वार्थ बिना महानगरवासीको लागि निर्णय गर्ने भएकोले महानगरका निर्णय सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताए । उनले महानगर विकास गर्नका लागि पोखरावासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने र उनीहरुबाट नै विभिन्न विकासका उपाय र योजनाहरु ल्याइने बताए ।

प्रतिक्रिया दिनुहोस