Latest News

रेनु दाहालसँग चुनाव हारेपछि काँग्रेस बागी उम्मेदवार जगन्नाथ पौडेलले दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 24, 2022 (2 Year ago)    1055 Views

काठमाडौं  भरतपुर महानगरपालिककाे मेयर पदका उम्मेदवार रहेका नेपाली काँग्रेसका बागी नेता जगन्नाथ पौडेलले आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै विशेष कार्यक्रममार्फत छिट्टै जनताको सामिप्यमा आउने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणना बाट मलाई प्राप्त प्रत्यक्ष करिब १५ हजार र बदर मत समेत करिब १० हजार गरी २५ हजार महानगरबासी मेरा मित्र सचेत र स्वाभिमानी काँग्रेसजन र अन्य बुद्धिजीवी समाजसेवी समेत बाट प्राप्त माया स्नेह र सहयोग का लागि हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म छिट्टै विशेष कार्यक्रम मार्फत तपाईहरुको सामिप्यमा आउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु धन्यवाद तथा जय नेपाल ।’

उनले महानगरपालिकामा निर्वाचित भरतपुर महानगरपालिकाका नगरप्रमुख रेणु दाहाल र नगर उपप्रमुख चित्रसेन अधिकारीलगायत निर्वाचित सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

बागी उम्मेदवार बनेका पौडेल कांग्रेसका चिनिएका नेता हुन्। यद्यपि यसपटक भने उनी महाधिवेशन प्रतिनिधिमै पराजित भए। चितवनको जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएका उनी खुल्लातर्फ १० जनामा अटाएनन्।

क्षेत्रीय प्रतिनिधिमा भने सहमतिमै उनी चयन भएका थिए। २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख बनेका पौडेल राष्ट्रिय सभाको सदस्यसमेत बनिसकेका छन्।

चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्षसमेत बनिसकेका पौडेल बालकुमारी कलेज नारायणगढका स्थापनाकर्तामध्येका एक हुन्। हाल पौडेल क्याम्पस संचालक समितिका अध्यक्ष हुन्।

त्यस्तै चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन्। नेकपा एमालेका बिजय सुबेदीलाइ साढे १२ हजार मतले पराजित गर्दै रेनु बिजयी बनेकी हुन्।

मतगणना केहिबेर अघि सकिएको हो । रेनुले ५२ हजार ३० मत ल्याइन । बिजयले ३९ हजार ५ सय ८१ मत पाए । रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन । बिजय एमाले र राप्रपाबिचको गठबन्धनका उम्मेदवार थिए।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन्। उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२८०३ मतसहित विजयी भए भने एमाले-राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०६१२ मत ल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस