Latest News

पोखरा महानगरको मेयरमा धनराज आचार्य विजयी, कसले कति मत ल्याए ?

Nepalese Times May 24, 2022 (2 Year ago)    828 Views

काठमाडौं । एकीकृत समाजवादीबाट धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् ।

करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाभन्दा ५ हजार २८६ मतको फराकिलो अग्रता बनाएसँगै मत गणना सकिन अघि नै आचार्यको जीत सुनिश्चित भएको हो ।

पोखरा महानगरपालिकामा अहिलेसम्म १ लाख ३८ हजार २११ मत मतगणना सकिएको छ । पछिल्लो मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा समाजवादीका धनराज आचार्यले ५६ हजार ४७१ मत मत ल्याएका छन् ।

मेयर पदका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५१ हजार १८५ मत पाएका छन् भने आचार्य थापाभन्दा ५ हजार २८६ मतले अगाडि छन् ।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले अग्रता कायम राखेकी छन् । उनले ५८ हजार ५८२ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५४ हजार ५४७ मत ल्याएकी छन् ।

यस्तै नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएकी छन् ।  रेनुले ५१ हजार ११२ मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । रेनु र विजयबीचको मत अन्तर १२ हजार १४० छ ।

अब करिब १ एक हजार मत मात्र गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा रेनुले अग्रता लिएको मत अन्तर धेरै भएपछि उनको जित सुनिश्चित भएको हो । मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै जित सुनिश्चित भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाइरहेका छन् । मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरुको भिड बढ्दै गएको छ ।

भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ हजार ७२७ मत पाएका छन् ।

यसैगरी उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनले ५१ हजार ९०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।

भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए । तर उनीहरु दुबै जना भारी मत अन्तरले पराजित भएका छन् । रेनु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस