Latest News

धनराज आचार्यलाई पोखरा महानगरको मेयर घोषणाको तयारी, एमालेकै नेताहरु यसो भन्न थाले

Nepalese Times May 23, 2022 (2 Year ago)    654 Views

काठमाडौं । अब पोखरामा १२ हजार ४९९ मतमात्र गन्न बाँकी छ। त्यसमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ५२ हजार ९७२ मत प्राप्त गरेका छन्।

यो उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले पाएको भन्दा ४ हजार ४४६ मत बढी हो। अहिले कायम रहेको मतान्तर र मतान्तरको शैली हेर्ने हो भने धनराज जित नजिक पुगेका छन्।

यता, उपमेयरमा पनि अवस्था उस्तै छ। एमालेकी मञ्जुदेवी गुरुङ र कांग्रेसकी कोपिला रानाभाटबीचको मतान्तर पनि ४ हजार २२ मतको छ। मञ्जुले ५५ हजार ५०४ र कोपिलाले ५१ हजार ४१२ मत पाएका छन्।

मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ४६२ र उपमेयरकी उम्मेदवार रञ्जना सेनले पनि सोही परिणाममा मत पाएकी छन्। त्यस्तै भूमिगतकालीन समयमा नेकपा एमालेका गोप्य भेला र बैठक कास्कीको पुरन्चौरमै राखिन्थे।

एमालेका तत्कालीन नेताहरु झलनाथ खनाल, वामदेव गौतमहरू त्यहाँ पुगिरहन्थे। हाल पोखरा महानगरमा गाभिएको त्यो वडा सधैं एमाले गढको रुपमा परिचित रह्यो।

अघिल्लो स्थानीय निर्वाचनमा त्यस वडाबाट एमालेका शोभामोहन ढकाल २ हजार ४८३ मत ल्याएर अध्यक्षमा विजयी बने। उनका प्रतिस्पर्धी कांग्रेसका पुष्पेन्द्र पाण्डेले १ हजार ९६० मत ल्याएका थिए।

नेता जन्माउने क्षेत्रको रुपमा परिचित त्यही वडाका बासिन्दा दीपक पौडेललाई एमालेले यो पटकको चुनावमा मेयरको उम्मेदवार बनाउने निर्णय गर्‍यो। चोरीको दोष लागेपछि लामो समय शिक्षक राजनीति गरेका उनको टिकट नै खोसियो।

त्यसभन्दा तल्लोपट्टीका कृष्ण थापा मेयरका उम्मेदवार बने। त्यहाँसम्म ठीकै थियो। टिकट खोसिएकामा असन्तुष्टि जनाउने सम्भावनाबीच दीपकलाई भेट्न एमाले नेता ईश्वर पोखरेल उनकै निवास पुगे।

चुनावी सभाहरूमा हिँड्न राजी गराए। त्यस वडाबाट एमालेले यो पटक अध्यक्षको प्रत्यासी भने इमानराज पौडेललाई बनायो। विद्यार्थी राजनीतिबाट आएका र पार्टीभित्र लामो समयसम्म माधवकुमार नेपाल पक्षधर भनेर चिनिने इमान पुरानै पार्टीमा बसे।

यी नेताले एमालेको १० औं महाधिवेशनमा उपसचिवमा प्रतिस्पर्धा गरे। तर,विजयी भएनन्। उनै इमान वडाध्यक्षमा उठ्दा पनि पराजित बन्न पुगेका छन्। उनलाई कांग्रेसका यसअघिका प्रत्यासी पुष्पेन्द्र पाण्डेले नै ५१ मतले हराएका हुन्।

पाण्डेले २ हजार ५५४ र पौडेलले २ हजार ५०३ मत प्राप्त गरे। एमालेले त्यहाँ पनि सदस्यहरु भने जित्यो। उता, त्यस वडाबाट एमाले मेयरका उम्मेदवार कृष्ण थापाले पनि कम मत पाए। थापाले २ हजार २६८ मत पाउँदा गठबन्धनका धनराजले २ हजार ३५४ मत प्राप्त गरेका छन्।

थापा मेयर निर्वाचित हुन गणना हुन बाँकी मतमा ८ हजार बढी मत पाउनुपर्छ, जुन असम्भव देखिएको एमाले कास्कीका एक नेताले बताए।

अहिलेसम्मको मत परिणाम हेर्दा लगातार आचार्यले अग्रता लिइरहेका छन्। एमालेले वडाध्यक्ष र उपमेयरमा बढी मत पाएका ठाउँमा समेत आचार्यको अग्रता देखिएको छ।

गणना हुन बाँकी रहेको १२ हजार ४ सय ९९ मतमा आचार्यका पक्षमा कम मत आएपनि अहिलेसम्म ४ हजार ४३६ मतले अग्रता लिएकाले थापाको हार देखिएको ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस