Latest News

काठमाडौंको मतगणना अन्तिम चरणमा पुग्दा फेरि भाँडभैलो, सत्ता गठबन्धनका उम्मेदवारले नै दिए उजुरी

Nepalese Times May 23, 2022 (2 Year ago)    783 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुग्दा फेरि भाँडभैलो सुरु भएको छ । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा मत संकेत गरिएको मतलाई बदर नमान्न माग गर्दै उनले उजुरी दर्ता गराएका हुन् ।

उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदको हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मतसङ्केत भए पनि आफू उम्मेदवार भएको कलम चिन्हको मतसङ्केतलाई समेत बदरगरी गणना गरेको भन्दै उनले उजुरी दिएका हुन् ।

मत बदर गराउने क्रम बढेकोले उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था आफूले देखेको भन्दै श्रेष्ठले निवेदन दर्ता गराएका हुन् ।

श्रेष्ठले निवेदनमा भनेका छन्, ‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७,१९,२२,२४ र २६ को भावना र मनशाय अनुसार हुनेगरी प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत संकेत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल पुन दोहोर्‍याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ।↕

काठमाडौं महानगरपालिकामा उपमेयर पदमा ठूलो संख्यामा मत बदर भएको छ। आइतबार दिउँसोसम्मको गणनामा मात्र ३६ हजार मत बदर भएको समाचार प्रकाशित गरेको थियो। उपमेयर उम्मेदवार एमालेकी सुनिता डंगोलले ४४७०५ मत ल्याएकी छन् भने रामेश्वर श्रेष्ठले १५६७० मत ल्याएका छन्।

यस्तै काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४६ हजार भन्दा धेरै मत ल्याएर अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार बालेन साहले ४६ हजार २१ मत पाएकाम छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४ सय ८३ मत र एमालेका उम्मेदवार केशव स्थापितले २६ हजार ५ सय १९ मत पाएका छन् ।

काठमाडौंमा यसअघि एमालेबाट मेयर जितेका विद्यासुन्दर शाक्य र अहिलेकी उपमेयर उम्मेदवार सुनिता डंगोलको वडाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

यस्तै स्थानीय तह निर्वाचन अन्तर्गत अझै केही ठाउँको परिणाम आउन बाँकी छ । सोमबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, ९ वटा उपमहानगरसहित ७२६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

५ महानगरपालिकासहित २५ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन। सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।

प्रतिक्रिया दिनुहोस