Latest News

भरतपुरमा १ लाख १२ हजार मत गनेर सकियो, अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times May 23, 2022 (2 Year ago)    735 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म १ लाख १२ हजार मत गनेर सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४४७१० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४३९६ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३६१३ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले ४५८४० मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७१८१ मत प्राप्त गरेकी छन् ।

यस्तै ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७२६ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ६ महानगरमध्ये विराटनगर महानगरपालिकाको नतिजा आइसकेको छ भने बाँकी ५ महानगरको नतिजा आउन बाँकी छ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगन्ज महानगरपालिका र पोखरा महानगरपालिकामा अन्तिम मतपरिणाम आउन बाँकी छ।

ललितपुर, पोखरा, भरतपुर र वीरगन्जमा सत्ता गठबन्धनकै उम्मेदवार अगाडि हुँदा काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता बढाइरहेका छन्।

११ उपमहानगरमध्ये ९ वटाको अन्तिम नतिजा आइसकेको छ। अब धनुषाको जनकपुरधाम र दाङको तुलसीपुर उपमहानगरमा अन्तिम नतिजा आउन बाँकी छ। जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि हुँदा तुलसीपुरमा एमालेका उम्मेदवारको अग्रता छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह ४३ हजार ८ सय ५० मतसहित अगाडि छन् भने उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मतसहित पछ्याइरहेकी छिन् ।

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ३५ हजार ७०३ मतसहित अगाडि छन् भने उनलाई नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २० हजार ९ सय ४२ मत ल्याएर पछुयाइरहेका छन् ।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका रेनु दाहालले ४३ हजार ४८४ ल्याएर अग्रता कायम गरेकी छिन् भने उनलाई नेकपा एमालेका विजय सुवेदीले ३३ हजार ६ सय १२ मत ल्याएर पछ्याइरहेका छन् ।

वीरगन्ज महानगरपालिकामा जसपाका राजेशमान सिंहले ३८ हजार ४ सय ३७ मत ल्याएर अग्रता कायम गरेका छन् भने नेकपा एमालेका विजयकुमार सरावगीले १९ हजार ६७९ ल्याएका छन् ।

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४७ हजार ९ सय ९२ मत ल्याएर अगाडि छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ४४ हजार १ सय ३९ मत ल्याएका छन् ।

यस्तै जनकपुर उपमहानगरपालिकाको मेयरमा ११४५३ मतसहित स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी अगाडि छन् भने तुलसीपुर उपमहानगरपालिकाको मेयरमा १८७४७ मतसहित नेकपा एमालेका टिकाराम खड्का अगाडि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस