काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण महर्जन प्रतिस्पर्धीको भन्दा दोब्बर मतले विजयी भएका छन् । महर्जनले २१४९ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका विकास ढंगोलले ९९३ मत ल्याएका छन् । काठमाडौं महानगरपालिका १२ बाट मेयरमा कांग्रेसका सिर्जना सिंहले ११७८, एमालेका केशव स्थापितले ९०१, स्वतन्त्र उम्मेदवार बालेन साहले ६५९ र सुमन सायमीले ५७६ मत पाएका छन् ।
यस्तै ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७२६ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ६ महानगरमध्ये विराटनगर महानगरपालिकाको नतिजा आइसकेको छ भने बाँकी ५ महानगरको नतिजा आउन बाँकी छ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगन्ज महानगरपालिका र पोखरा महानगरपालिकामा अन्तिम मतपरिणाम आउन बाँकी छ।
ललितपुर, पोखरा, भरतपुर र वीरगन्जमा सत्ता गठबन्धनकै उम्मेदवार अगाडि हुँदा काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता बढाइरहेका छन्।
११ उपमहानगरमध्ये ९ वटाको अन्तिम नतिजा आइसकेको छ। अब धनुषाको जनकपुरधाम र दाङको तुलसीपुर उपमहानगरमा अन्तिम नतिजा आउन बाँकी छ। जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि हुँदा तुलसीपुरमा एमालेका उम्मेदवारको अग्रता छ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह ४३ हजार ८ सय ५० मतसहित अगाडि छन् भने उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मतसहित पछ्याइरहेकी छिन् ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन ३५ हजार ७०३ मतसहित अगाडि छन् भने उनलाई नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २० हजार ९ सय ४२ मत ल्याएर पछुयाइरहेका छन् ।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका रेनु दाहालले ४३ हजार ४८४ ल्याएर अग्रता कायम गरेकी छिन् भने उनलाई नेकपा एमालेका विजय सुवेदीले ३३ हजार ६ सय १२ मत ल्याएर पछ्याइरहेका छन् ।
वीरगन्ज महानगरपालिकामा जसपाका राजेशमान सिंहले ३८ हजार ४ सय ३७ मत ल्याएर अग्रता कायम गरेका छन् भने नेकपा एमालेका विजयकुमार सरावगीले १९ हजार ६७९ ल्याएका छन् ।
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४७ हजार ९ सय ९२ मत ल्याएर अगाडि छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ४४ हजार १ सय ३९ मत ल्याएका छन् ।
यस्तै जनकपुर उपमहानगरपालिकाको मेयरमा ११४५३ मतसहित स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी अगाडि छन् भने तुलसीपुर उपमहानगरपालिकाको मेयरमा १८७४७ मतसहित नेकपा एमालेका टिकाराम खड्का अगाडि रहेका छन् ।