काठमाडौं । छोरालाई मेयर उम्मेदवार बनाएर चुनावी मैदानमा खडा गरेका पूर्वमन्त्री गोविन्दराज जोशी आफ्नो पक्षमा नतिजा ल्याउन असफल भएका छन् ।
अघिल्लो निर्वाचनमा अन्तरघात गरेको आरोपमा नेपाली कांग्रेस पार्टीबाट निष्काशनमा परेका उनले यो स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा दीपकराज जोशीलाई मेयरको उम्मेदवार बनाएका थिए ।
जोशी काँग्रेसका उम्मेदवारसँग पराजित भएका छन् । व्यासको मेयरमा काँग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका हुन् । पराजित स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत पाएका छन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको उपप्रमुख पदमा काङ्ग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत ल्याएर विजयी भएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले दश हजार ४२ मत पाएकी छिन् ।
१४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित विजयी भएको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ ।
व्यासमा गोविन्दराज जोशी समूह र एमालेबीच तालमेल भएको थियो । तालमेलका बीच पनि कुनैबेला काँग्रेसका प्रभावशाली जोशी चुनावमा असफल बनेका हुन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत अझै केही ठाउँको परिणाम आउन बाँकी छ । सोमबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, ९ वटा उपमहानगरसहित ७२६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
५ महानगरपालिकासहित २५ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन। सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।