Latest News

पोखरा महानगरको विहानी अपडेटः १ लाख २० हजार मत गनेर सकियो, कसले कति मत ल्याए ?

Nepalese Times May 23, 2022 (2 Year ago)    819 Views

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्य चार हजार मत अगाडिछन् ।

सोमबार विहानसम्मको परिणाम अनुसार १ लाख २० हजार मत गणना हुँदा आचार्य ४ हजारभन्दा धेरै मतले अगाडि रहेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक पछिल्लो विवरणअनुसार गठबन्धनबाट नेकपा एकीकृत समाजवादी उम्मेदवार आचार्यले ४७ हजार ९९२ मत ल्याएका छन् ।

एमालेका उम्मेदवार कृष्ण थापाले ४४ हजार १३९ मत पाएका छन्। नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले पाँच हजार १६४, अटेरी अभियानका खडकराज पौडेल (गनेस) ले दुई हजार ८१५ र विवेकशील साझाकी उम्मेदवार सुशीला केसीले ३२४ मत पाएका छन्।

उपप्रमुख पदमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता कायमै गरिरहेकी छिन्। सुरुवाती अग्रतामा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट अगाडि रहे पनि पछि गुरुङको अग्रता रहँदै आएको छ।

गुरुङले कांग्रेसकी रानाभाटलाई दुई हजार ७९० मतले पछाडि पारेकी छिन्। गुरुङलाई ५० हजार २६० मत पर्दा रानाभाटको पक्षमा ४७ हजार ४७० मत प्राप्त भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले पाँच हजार ११९ र विवेकशील साझाका माधव पौडेलले २४९ मत ल्याएका छन्।दुई लाख ७ हजार ७१२ जना मतदाता रहेको पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेको छ।

अब २३ हजार ९०७ मत मात्रै गणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। स्थानीय तह निर्वाचनको हालसम्म ७१६ तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगको प्रणालीमा आज साँझ ८ बजेसम्म प्रविष्ट भएका आधारमा विश्लेषण गर्दा मुलुकका सातमध्ये प्रदेश नं १ बाहेक सातै प्रदेशमा नेपाली कांग्रेसका धेरै उम्मेदवार विजयी भएका छन् भने प्रदेश १ मा नेकपा एमालेको अगुवाइ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस