Latest News

७१५ स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति पालिका जिते ? (विवरणसहित)

Nepalese Times May 22, 2022 (2 Year ago)    678 Views

काठमाडौं । अहिलेसम्म सात सय १५ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । दुई सय ६१ नगरपालिका र चार सय ५४ वटा गाउँपालिका गरी सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले तीन सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । कांग्रेसले दुई सय ९० वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

यस्तै नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी एक सय ९३ वटा पालिकाको प्रमुख र दुई सय आठ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ । एमालेले दोस्रो स्थान कायम गरेको छ ।

नेकपा माओवादी केन्द्रले एक सय २० वटा पालिकाको प्रमुख तथा एक सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ । माओवादी केन्द्र तेस्रो बनेको छ ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ भने नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चार वटै पालिकामा उपप्रमुख पद जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ । नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ भने नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ ।

विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ भने जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् । निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये अहिलेसम्म १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेका छन् ।

प्रतिक्रिया दिनुहोस