काठमाडौं । भरतपुर महानगरपालिकामा १ लाख ५४४ मत गणना सकिएको छ । अब करिब २७ हजार मत गणना हुन बाँकी रहेको छ ।
आइतबार राति ८ बजेसम्म १ लाख ५४४ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । खसेको कुल १ लाख २७ हजार ५६६ मतमध्ये अब करिब २७ हजार मतमात्र गन्न बाँकी रहेको हो ।
भरतपुर महानगरपालिकामा १ लाख ५४४ गणना हुँदा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहालले ८८८२ मतको अग्रता बनाएकी छन् । दाहालले ३९ हजार ८०८ मत प्राप्त गर्दा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३० हजार ९२६ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ९०५ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४२ हजार ७४ मत पाएर अग्रता बनाइरहेका छन्।
यस्तै काठमाडौं महानगरपालिकाको उपमेयर पदमा मात्रै ३६ हजार भन्दा धेरै मत बदर भएको छ। काठमाडौं महानगरपालिकाले अहिलेसम्म १ लाख ६ हजार ५१६ मत गणना गरेको छ। तर अहिलेसम्म उपमेयरका सबै उम्मेदवारले जम्मा ६९ हजार ८८६ मत मात्र प्राप्त गरेका छन्।
सबैभन्दा धेरै मत प्राप्त गर्ने नेकपा एमालेकी सुनिता डंगोलले उपमेयरमा ३८ हजार ३५१ मत प्राप्त गरेकी छिन्। त्यसपछि दोस्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत पाएका छन्।
राप्रपाकी बिनिता मगैयाले ७ हजार २३, विवेकशील साझाकी कीर्ति कंसाकारले १ हजार ६७५, नेमकिपाकी सविता श्रेष्ठले ११२ मत प्राप्त गरेका छन्।
दुई स्वतन्त्र उम्मेद्वार लौरोका बेन्जी सिंह महर्जनले ४ हजार ८ र आँखिझ्यालकी उम्मेदवार विद्या श्रेष्ठ महर्जनले ४ हजार ५१४ मत पाएका छन्। त्यसबाहेक अन्य स्वतन्त्र उम्मेदवारले पाएको कुल मत ७७२ मात्र छ।
काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांक केलाउने हो भने उपमेयर पदमा मात्र हालसम्म ३६ हजार ६३० मत बदर भएको देखिन्छ।
काठमाडौं महानगरमा १ लाख ९१ हजार मत खसेको छ। यसरी हेर्ने हो भने बदर मत संख्या अझै बढ्ने देखिन्छ। काठमाडौंमा अहिलेसम्म १४ वटा वडाको मतगणना सम्पन्न भएको छ। ३२ वटा वडा रहेको काठमाडौंमा अहिले ९ वटा वडाको मतगणना जारी छ। ९ वटा वडाको अहिलेसम्म मतपेटिका खोलिएको छैन।
काठमाडौं महानगरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले धेरै मत बदर हुनुको पछाडि काठमाडौं मतपत्रको डिजाइन प्रमुख समस्या भएको बताइन्।