Latest News

यस्तो छ भरतपुर महानगरको पछिल्लो अपडेट, रेनु र विजयबीचको मतान्तर कति ?

Nepalese Times May 22, 2022 (2 Year ago)    644 Views

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना सकिएको छ ।

पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गरेकी छन् ।

रेनुले अहिलेसम्म ३८ हजार ६५५ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहमध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ।

हालसम्म प्राप्त परिणामअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। कांग्रेसले प्रमुख १२८ र १०१ उपप्रमुखम तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १९० जितेको छ।

०७४ सालको निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेका उम्मेदवार १९२ पालिका प्रमुख जित्दै दोस्रोमा सीमित भएको छ। एमालेले ७१ पालिका प्रमुख र १२१ अध्यक्ष जितेको छ। त्यसैगरी, ९५ उपप्रमुख १२२ उपाध्यक्ष जितेको छ।

नेकपा माओवादी केन्द्र पहिलाको भन्दा केही सुधार गर्दै यसपटक १२० पालिका प्रमुखमा जितेको छ। उसले २४ मा मेयर ९६ मा अध्यक्ष तथा ३२ उपप्रमुख र ९५ उपाध्यक्ष जितेको छ।

नेकपा एकीकृत समाजवादी पार्टीले ९ पालिका प्रमुख र जनता समाजवादी पार्टी नेपालले २१ प्रमुख जितेको छ। अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले ५७ पालिका प्रमुखमा विजयी हुन सफल भएका छन्।

बाँकी ४० तहमध्ये एमाले १४, का‌ंग्रेस-१०माओवादी र एकीकृत समाजवादी २ -२ स्थानमा र अन्यले १० स्थानमा अग्रता कायम राखेका छन्। दुई स्थानीय तहको मतगणना सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस