Latest News

७१३ स्थानीय तहको मत परिणाम सार्वजनिक, कसले कति पालिका जिते ? (विवरणसहित)

Nepalese Times May 22, 2022 (2 Year ago)    593 Views

काठमाडौं । निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहमध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ।

हालसम्म प्राप्त परिणामअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। कांग्रेसले प्रमुख १२८ र १०१ उपप्रमुखम तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १९० जितेको छ।

०७४ सालको निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेका उम्मेदवार १९२ पालिका प्रमुख जित्दै दोस्रोमा सीमित भएको छ। एमालेले ७१ पालिका प्रमुख र १२१ अध्यक्ष जितेको छ। त्यसैगरी, ९५ उपप्रमुख १२२ उपाध्यक्ष जितेको छ।

नेकपा माओवादी केन्द्र पहिलाको भन्दा केही सुधार गर्दै यसपटक १२० पालिका प्रमुखमा जितेको छ। उसले २४ मा मेयर ९६ मा अध्यक्ष तथा ३२ उपप्रमुख र ९५ उपाध्यक्ष जितेको छ।

नेकपा एकीकृत समाजवादी पार्टीले ९ पालिका प्रमुख र जनता समाजवादी पार्टी नेपालले २१ प्रमुख जितेको छ। अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले ५७ पालिका प्रमुखमा विजयी हुन सफल भएका छन्।

बाँकी ४० तहमध्ये एमाले १४, का‌ंग्रेस-१०माओवादी र एकीकृत समाजवादी २ -२ स्थानमा र अन्यले १० स्थानमा अग्रता कायम राखेका छन्। दुई स्थानीय तहको मतगणना सुरु हुन सकेको छैन।

यस्तै धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् ।

राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् ।

धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । २० हजार ५१० मत ल्याएर बेघा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत मात्र पाए ।

प्रतिक्रिया दिनुहोस