Latest News

पोखरामा १ लाख १० हजार मत गनेर सकियो, अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times May 22, 2022 (2 Year ago)    689 Views

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । १ लाख १० हजार मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाभन्दा आचार्य ३,४१७ मतले अगाडि छन् ।

सत्ता गठबन्धनका उम्मेदवार रहेका आचार्यले ४३ हजार २१५ मत ल्याउँदा थापाले ३९ हजार ७९८ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का शंकर खरालले ४८१५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २६९३ मत ल्याएका छन् ।

यस्तै वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार अघिल्लो पटकको ठूलो दल नेकपा एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ । आइतबार दिउँसोसम्ममा एमालेले १९० तहको नेतृत्व (अध्यक्ष/मेयर) मा जित निकालेको छ । पहिलो भएको नेपाली कांग्रेसले हालसम्म ३११ तहको नेतृत्व जितिसकेको छ ।

एमालेलाई हराउन सत्तारूढ गठबन्धनका पाँचदलले देशैभर तालमेलको प्रयास गरेका थिए । तर सम्भव भएन । त्यसपछि सत्तारूढ गठबन्धनले सकेसम्म पूर्ण (पाँचवटै दल) र नसकेका ठाउँमा आंशिक (मिलेजति दलहरू सम्मिलित) तालमेल गरेका थिए । अधिकांश ठाउँमा एक्लाएक्लै लडेका थिए ।

अहिलेको नतिजा हेर्दा सत्तारूढ गठबन्धनका दलहरूले एमालेको विरासत रहेका अधिकांश तहमा तालमेल गरेर एमालेलाई हराएका छन् । तर, जितेका तहहरूमध्ये झण्डै ५३ प्रतिशत तहमा भने एमालेले गठबन्धन दलको तालमेललाई नै हराएर जित निकालेको देखिएको छ ।

अहिलेसम्म एमालेले जितेका १९० तहमध्ये तीन तहमा जित निकाल्न एमालेले अन्य दलको सहारा लिएको देखिन्छ । जसमा दुई तहमा नेकपा माओवादी केन्द्र र एक तहमा कांग्रेससँग तालमेल गरेर जितेको छ, भने एकमा निर्विरोध जितेको छ ।

यस्तै सबै दलहरू एक्लाएक्लै लडेका ८५ तहमा एमालेले जित निकालेको देखिन्छ भने १०० मा गठबन्धनलाई हराएर देखिन्छ । प्रदेशगतरूपमा प्रदेश १ का ४२ तहमा जित निकाल्दा १७ तहमा एक्लाएक्लै लडेर जित्दा २६ पालिकामा गठबन्धनलाई हराएर जितेको छ । यस्तै मधेस प्रदेशका कुल २३ पालिका जित्दा २१ एक्लाएक्लै र २ पालिका गठबन्धनलाई हराएर जितेको छ ।

वागमती प्रदेशमा कुल २६ तह जितेको एमालेले दुई पालिकामा माओवादी केन्द्रसँग तालमेल गरेर जित्दा सबै दल एक्लाएक्लै लडेको ६ तहमा जितेको छ । बाँकी १८ पालिकामा गठबन्धनलाई हराएर जितेको छ ।

यस्तै गण्डकी प्रदेशका कुल ३५ तहमा एमाले जितेको छ । जसमा सबै दल एकलाएक्लै लडेको १९ तहमा जित निकाल्दा १६ तहमा गठबन्धनमाथि जित निकालेको छ ।

लुम्बिनी प्रदेशमा कुल २५ तहमा जित निकाल्दा १ तहमा कांग्रेससँग तालमेल गरेर जितेको एमालेले १७ तहमा गठबन्धनलाई हराएर जितेको छ, भने सबै दल एक्लाएक्लै लडेका ७ तहमा जित निकालेको छ ।

उता कर्णाली प्रदेशका १५ तहमा एमालेले जित निकाल्दा एकमा निर्विरोध जितेको छ भने सबै दल एक्लाएक्लै लडेका ५ तहमा जितेको छ । ९ तहमा गठबन्धनलाई हराएर जितेको छ । सुदूरपश्चिम प्रदेशका १५ तहमा गठबन्धनमाथि जित निकालेको एमालेले एक्लाएक्लै लडेका ९ तह थप्दै कुल २४ तह जितेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस