Latest News

पालिका चुनावमा कांग्रेसले ५० प्रतिशत जित्न नसकेको भन्दै प्रदीप पौडेलले दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 22, 2022 (2 Year ago)    802 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धन गरेको ठाउँमा ५० प्रतिशत पनि जित्न नसकिएको बताएका छन् ।

नेता पौडेलले भने, “हामीले देशभरिका सबै पालिकामा गठबन्धन गरेका थिएनौं । जम्मा एक तिहाइ अर्थात् २१० पालिकामा गठबन्धन गर्दा देशभरि गरेजस्तो हौवा पिटाइयो ।’

उनले भने, ‘तर काठमाडौं, धरान, धनगढी लगायत थुप्रै पालिकामा गठबन्धनको उपयोग भएन । गठबन्धनभित्र ५० प्रतिशत पनि जित्न सकेनौं । आन्तरिक व्यवस्थापन हुन सकेको भए कांग्रेसले ४ सयको हाराहारीमा जित्न सक्थ्यो ।”

नेता पौडेलले गठबन्धनभित्र कसैले कसैलाई धोका दिएको भन्न नमिल्ने पनि औंल्याए । उनले भने, “जनताको मत ट्रान्सफर गर्न सजिलो छैन । कांग्रेसको भोट नियन्त्रित पनि छैन । शीर्ष नेताले आह्वान गर्यो भन्दैमा डेमाक्र्याटको भोट सर्लक्क जाँदैन । यस्तो त कांग्रेसले कम्युनिस्टलाई र कम्युनिस्टले कांग्रेसलाई गर्न सकेको छैन । तर कसैलाई कसैले धोका दिएको होइन ।”

कांग्रेसले गठबन्धनका नाममा धेरै लचिलो र कतिपय ठाउँमा जोर जबर्जस्ती गर्दा अपेक्षाकृत नतिजा आफ्नो पक्षमा नआएको पनि उनले बताए ।

पौडेलले थपे, “गठबन्धनमा कांग्रेस धेरै लचिलो भयो । तर कांग्रेसलाई सोचेजस्तो उपलब्धि हासिल हुन सकेन । जनतालाई हामीले गठबन्धन गरेका छौं, तिमीले भोट हाल भन्दैमा हुँदो रहेनछ । सँगै छौं भन्नका लागि जबर्जस्ती गर्दा पनि राम्रो भएन ।”

काठमाडौंलगायत सहरका सचेत मतदाताले दलहरुलाई विशेष सन्देश दिन खोजेको देखिएको कांग्रेस नेता पौडेलले बताए ।

उनले भने, “काठमाडौं, धनगढी, धरानमा सरल र व्यावहारिक रुपमा एजेन्डा राखेर स्वतन्त्र युवा साथीहरु आउनुभएको छ । यसको अर्थ दलप्रति जनताको वितृष्णा छ या कांग्रेस तिरस्कृत भएको भन्ने होइन । स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण देखियो ।’

उनले भने, ‘हामीले जनताका बीचमा बुझिने ढंगले एजेन्डा राख्न सकेनौं कि ? जनताको सबै एजेन्डा समेट्न सकेनौं कि ? त्यो जनमतले हामीलाई सचेत गराउन खोजेको छ । यसले हामीलाई समीक्षा गर्न बाध्य बनाएको छ । यो एकप्रकारको नसिहत हो ।”

आगामी संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन हुने उनले औंल्याए । पौडेलले भने, “स्थानीय तहमा गठबन्धन आवश्यकता नै थिएन । तर संघ र प्रदेशको निर्वाचनमा सँगै जानुपर्ने भएकाले त्यसको पूर्वाभ्यास गरिएको हो । त्यसैले अबको चुनावमा एक्लै जाने स्थिति हुन्छ भन्ने मलाई लाग्दैन ।”

प्रतिक्रिया दिनुहोस