Latest News

ललितपुर महानगरमा ६१ हजारभन्दा धेरै मत गनेर सकियो, चिरिबाबुसहित कसको कति ?

Nepalese Times May 22, 2022 (2 Year ago)    755 Views

काठमाडौं । ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाएका छन् । ६१ हजार १३२ मत गणना हुँदा महर्जनले ३० हजार ८६० मत ल्याएका छन भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार २०१ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखतर्फ एमालेकी मञ्जली शाक्यले १७ हजार ७१६ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १२ हजार ६६६ मत ल्याएका छन् । ललितपुर महानगरपालिकामा जम्मा ८५ हजार ८६१ मत खसेको थियो ।

यस्तै स्थानीय तह निर्वाचनमा अहिलेसम्म ७०३ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ।

हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले जितेका निर्वाचन आयोगले जनाएको छ ।नेकपा एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ।

मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्। निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो।

यस्तै चितवनको भरतपुर महानगरपालिकामा हालसम्म ९० हजार ३ सय ८ मत गनेर सकिएको छ । पछिल्लो गणना अनुसार सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दहालले ३५ हजार ४६० मत पाएर अग्रता लिइरहेकी छन्।

उनले एमाले–राप्रपा गठबन्धनका उम्मेदवारलाई ७५६५ मतले पछि पारेकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार ८ सय ९५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत पाएका छन्।

यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३७६२४ मत पाएका छन्।

उनले राप्रपाकी हिमला गुरूङलाई १५ हजार ५ सय ६८ मतले पछि पारेका छन्। गुरूङले २२०५६ मत पाएकी छन्। अब चितवनमा करिब ३७ हजार मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस