Latest News

काठमाडौं–३१ को अन्तिम मत परिणाम सार्वजनिक, मेयरमा अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times May 21, 2022 (2 Year ago)    937 Views

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ३१ मा नेकपा एमाले विजयी भएको छ । एमालेका सरोज ढकाल ४७६७ मतका साथ विजयी हुँदा कांग्रेसका प्रकाश रानाले २९९१ मत पाए ।

वडाको खुल्ला सदस्य एकजना भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरतर्फ भने एमाले उम्मेदवार केशव स्थापितभन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले सो वडामा दोब्बर मत पाएका छन् ।

स्थापितले २०७९ मत पाउँदा बालेनले ४१७९ मत पाए । यस्तै कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २४३७ मत पाइन् । महानगरमा अन्तिम परिणाम आएकामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ । कांग्रेस वडा नम्बर ६, ७, २७, २८ र ३० मा विजयी भएको छ ।

स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार २९४ नगरपालिका र ४४७ गाउँपालिकाका गरी करिब ९२ दशमलव १६ प्रतिशत स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरुपमा बढी मतदाता रहेका महानरपालिका र उपमहानगरपालिकाको मत गणना सकिन अझै केही दिन लाग्ने देखिएको छ ।

मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२२ मा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ६७ स्थानमा जित हासिल गरी १४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा २४ स्थानमा जित र २ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सो पदमा नौ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।

निर्वाचनमा नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ९४ स्थानमा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९१ स्थानमा जित हासिल गरी १८ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले उपप्रमुख पदमा ३२ स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले नौ स्थानमा विजय हासिल गरी तीन स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्यले २० स्थानमा विजय हासिल गरी चार स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भएका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १८४ स्थानमा जित हासिल गरी चार स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले १२१ स्थानमा जित हासिल गरी २ स्थानमा अग्रता कायम गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस