Latest News

विराटनगर महानगरको मेयरमा कांग्रेसका नागेश विजयी, उपमेयरमा को ? (मतपरिणामसहित)

Nepalese Times May 21, 2022 (2 Year ago)    631 Views

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की विजयी भएका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा एमाले उम्मेदवार कार्की ११४६१ मत अन्तरले विजयी भएकी हुन् ।

मेयरमा नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरेका छन् । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए । उपमेयरमा शिल्पा कार्की २५ हजार ६८०मत सहित विजयी हुँदा जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए ।

यसैगरी राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् । वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ।

७५३ पालिकामध्ये शनिबारर बिहान ५ बजेसम्म १ महानगरपालिका, ५ उपमहानगरपालिकासहित ६८२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। ५ महानगर र ६ उपमहानगरसहित अरू बाँकी पालिकामा मतगणना जारी छ।

अहिलेसम्म सबै पालिकाको मतपरिणाम कर्णाली प्रदेशको मात्रै आएको छ। मधेस प्रदेशमा धेरै पालिकामा मतपरिणाम आउन बाँकी छन्।

यस्तै पोखरा महानगरपालिकाको मतगणना आधा सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५० प्रतिशत मत गणना सकिँदा अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै वडा जितेको छ ।

५० प्रतिशतभन्दा बढी गणना सकिँदा गठबन्धन उम्मेदवारको अग्रता कायम छ । नेकपा एसका धनराज आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् ।

७२ हजार ९ सय १८ मत गणना हुँदा आचार्यले ३ हजार ४ सय ४२ मतले अग्रता कायम गरेका छन् । मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले ३ हजार १ सय ४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट झिनो अन्तरले अगाडि छिन् । उनले ३० हजार २ सय ६० मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन् ।

कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जितेको हो ।

२, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ । अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ । केहिबेरपछि १७, ३० र ३१ को मतगणना गर्न लागिएको छ । १६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस