Latest News

पोखराको विहानी अपडेटः आधा मतगणना सकियो, अहिलेसम्म कसले कति मत ल्याए ?

Nepalese Times May 21, 2022 (2 Year ago)    713 Views

पोखरा । पोखरा महानगरपालिकाको मतगणना आधा सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५० प्रतिशत मत गणना सकिँदा अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै वडा जितेको छ ।

५० प्रतिशतभन्दा बढी गणना सकिँदा गठबन्धन उम्मेदवारको अग्रता कायम छ । नेकपा एसका धनराज आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् ।

७२ हजार ९ सय १८ मत गणना हुँदा आचार्यले ३ हजार ४ सय ४२ मतले अग्रता कायम गरेका छन् । मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले ३ हजार १ सय ४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट झिनो अन्तरले अगाडि छिन् । उनले ३० हजार २ सय ६० मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन् ।

कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जितेको हो । २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ ।

अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ । केहिबेरपछि १७, ३० र ३१ को मतगणना गर्न लागिएको छ । १६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन् ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७५३ पालिकामध्ये शनिबारर बिहान ५ बजेसम्म १ महानगरपालिका, ५ उपमहानगरपालिकासहित ६८२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। ५ महानगर र ६ उपमहानगरसहित अरू बाँकी पालिकामा मतगणना जारी छ।

अहिलेसम्म सबै पालिकाको मतपरिणाम कर्णाली प्रदेशको मात्रै आएको छ। मधेस प्रदेशमा धेरै पालिकामा मतपरिणाम आउन बाँकी छन्।

प्रतिक्रिया दिनुहोस