Latest News

स्वतन्त्र उम्मेदवारले तहल्का मच्चाइरहेको धनगढीको मेयरमा यस्तो आयो पछिल्लो मत परिणाम

Nepalese Times May 20, 2022 (2 Year ago)    636 Views

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी)ले निरन्तर अग्रता लिइरहेका छन् ।

४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाउँदै लगिरहेका छन् । हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछाडि पारेका छन् ।

१९ हजार १४७ मत ल्याएर हमाल पहिलो स्थानमा रहेका छन् । यो दोस्रो स्थानमा रहेका ओडको भन्दा दोब्बरले बढी मत हो । कांग्रेसका ओडले जम्मा ९ हजार ५५७ मतमात्रै पाएका छन् । मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा भने माओवादी केन्द्र र एमालेका उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत ल्याएर अग्रता कायम गरेकी छन् ।

उनलाई एमालेकी कन्दकला रानाले ८१४१ मतका साथ पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५०३६ मत पाएका छन् ।

अहिलेसम्म ६१९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको हो ।

अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ९९ वटा नगरपालिकाको मेयर र १ सय ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

यस्तै, कांग्रेसले ७४ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५१ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो । नेपाली कांग्रेस २ हजार ३ सय ५० वटा वडाअध्यक्ष पदमा विजयी भएको छ ।

एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५७ वटा नगरपालिकाको मेयर र १ सय १३ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ७० वटा पालिकाको प्रमुख पद जितेको छ ।a

यस्तै, एमालेले ७५ वटा नगरपालिकाको उपमेयर, १ सय १६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १ सय ९१ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमाले १ हजार ८ सय ८१ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएको छ ।

प्रतिक्रिया दिनुहोस