काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा ५३ हजार ३४६ मत गणनामा भएको छ। जसमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहाल २० हजार २२४ मतसहित अग्रस्थानमा छन्।
नेकपा एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत पाएका छन्। रेनु दाहाल र विजयी सुवेदीको ३३०७ मत अन्तर रहेको छ।
अहिलेसम्म ६१९ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा घोषणा गरेको हो ।
अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ९९ वटा नगरपालिकाको मेयर र १ सय ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।
यस्तै, कांग्रेसले ७४ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५१ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो । नेपाली कांग्रेस २ हजार ३ सय ५० वटा वडाअध्यक्ष पदमा विजयी भएको छ ।
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५७ वटा नगरपालिकाको मेयर र १ सय १३ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ७० वटा पालिकाको प्रमुख पद जितेको छ ।a
यस्तै, एमालेले ७५ वटा नगरपालिकाको उपमेयर, १ सय १६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १ सय ९१ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमाले १ हजार ८ सय ८१ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएको छ ।
नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ ।
माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १७ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रबाट ९ सय ८२ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।
नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर र ८ वटा गाउँपालिकाको अध्यक्षमा गरी जम्मा १४ वटा प्रमुखमा जितेको छ । समाजवादीले ८ वटामा उपमेयर जितेको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १५ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १३ वटामा उपाध्यक्ष र २ सय २८ वटामा वडाअध्यक्ष जितेको छ ।
यस्तै, स्वतन्त्र र अन्य दलले गरी ३३ वटा पालिकामा मेयर/अध्यक्ष जितेका छन् । स्वतन्त्र र अन्य दलहरुले ३९ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका निर्वाचन आयोगले जनाएको छ।