काठमाडौं । देशभर भइरहेको मत गणनामध्ये सबैभन्दा धेरै चासोको रुपमा काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकालाई हेरिएको छ ।
काठमाडौंमा पनि वडा नम्बर २८ लाई आम मतदाताले चासोका साथ हेरिरहेका छन् । कारण हो, यो वडा एमाले उम्मेदवार केशव स्थापितको वडा पर्नु ।
मतगणना जारी काठमाडौंको २८ नम्बर वडामा समेत स्थापित पछि परेका छन् । यो वडामा बालेनले ३७८ भोट ल्याए भने स्थापितको ३४५ मात्रै रहेको छ । यस्तै काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् ।
५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित १०, ९९८ भोटमा सीमित भएका छन् । त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १०, १७३ भोट ल्याएकी छन् ।
काठमाडौँ महानगरपालिकाको वडा नं १ मा वडाध्यक्ष र एक सदस्य पदमा नेकपा एमाले विजयी भएको छ। निर्वाचन आयोगका अनुसार वडा नं १ बाट एमालेका भरतलाल श्रेष्ठ ६ सय २२ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। उनीसँगै ७५९ मतका साथ एमालेकै सदस्य उम्मेदवार रसला तण्डुकार पनि विजयी भएकी छन्।
यस्तै वडा नम्बर २ मा ३३९७ मत खसेकोमा सबैभन्दा धेरै बालेन शाहले १२१५ मत पाएका छन् । केशव स्थापितले ७२८ मत पाएका छन् भने सिर्जना सिंहले ४९७ मत पाएका छन् ।
काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गरे।
वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाए।
यस्तै वडा नम्बर ३ मा ६ हजार २ सय ६३ मत खसेको थियो । जसमध्ये बालेन शाहले सबैभन्दा धेरै २४०६, केशव स्थापितले १२०३ र सिर्जना सिंहले ७२८ मत पाएका छन् ।
काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन् । उनले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी ल्याएका छन् ।थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गरे ।
वडा नम्बर ५ मा ४ हजार ७९ मत खसेकोमा बालेन शाहले १५०१, केशव स्थापितले १०६६ र सिर्जना सिंहले ७२७ मत पाएका छन् । अहिले मत गणना रहेका अन्य वडाहरुमा पनि बालेन शाहले नै सबैभन्दा धेरै मत ल्याएका छन् । यो वडामा एमालेले जितेको छ ।