Latest News

मत गणनास्थल तनावग्रस्त भएपछि सेना परिचालन

Nepalese Times May 18, 2022 (2 Year ago)    704 Views

धरान – धरान उपमहानगरपालिका वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइए पश्चात् माओवादी केन्द्रका कार्यकर्ताले आन्दोलन सुरुगरेपछि धरानको मत गणनास्थलामा सेना परिचालन भएको छ।

माओवादी कार्यकर्ताहरुले जनताले दिएको मत सदर गर्नुपर्ने माग राखेर आन्दोलन चर्काए पश्चात् मतगणनास्थल पब्लिक माबिमा सेना परिचालन गरिएको हो।

धरान-२० को २०२१ मत खसेको थियो। सबै मत गणना गर्दा हस्ताक्षर बिनाको १८ मत बदर गरिएपछी कांग्रेस उम्मेदवारले जित्ने निश्चित भएपछि माओवादीले आन्दोलन चर्काएको छ।

१८ मत सदर गरिए माओवादीको ११ भोट सदर हुने छ र माओवादी उम्मेदवारले विजय गर्ने भएपछि माओवादी आन्दोलित भएको हो। १८ मत मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले बैठक बसि मतदान अधिकृतलाई विभागिय कारवाही गर्ने निर्णय गरेका छन्।

माओवादीका नेता राजेन्द्र किरातिले १८ मत सदर नगरिए धरान २० मा पुनः मतदानको ब्यवस्था गर्न माग गरेका छन्। उनले जनताले दिएको मत मतदान अधिकृतको चरम लापरवाहीले बदर भएको भन्दै आपत्ती प्रकट गरे।

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४ मतले अग्रता लिएका छन्। २८५६६ मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार साम्पाङले गठबन्धनका उम्मेदवार किशोर राईलाई १४ मतले पछि पारेका हुन्।पछिल्लो मतगणना नतिजाअनुसार साम्पाङले ८१४० मत प्राप्त गरेका छन् भने गठबन्धन उम्मेदवार राईले ८१२६ मत प्राप्त गरेका छन्। एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६७१३ मत प्राप्त गरेकी छिन्।

यसैगरी उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ। उनले ९१३६ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार पदम इस्वोले ८८५१ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन्।

धरान वडा नम्बर २० को मतगणना सकिएको थियो। उक्त वडामा चार मतको अन्तरले कांग्रेसका पदम लिम्बुले वडाध्यक्ष जिते। माओवादी केन्द्रका विजय तामाङ पराजित भए। मतगणनाको क्रममा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षरबिनाको पाइएको थियो। तीमध्ये ११ मतमा वडाध्यक्षमा माओवादी केन्द्रलाई मत दिइइको थियो।

माओवादी केन्द्रसहितको सर्वदलीय बैठकले ती सबै मतपत्र रद्द गर्ने निर्णय गरेको थियो। अन्तिम परिणाममा आफ्ना वडाध्यक्ष चार मतले हारेपछि माओवादीले तिनै मतपत्रको विवाद झिकेर प्रदर्शन गरेको हो।

यस्तै देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकामा निर्वाचित हुने ६ हजार ७ सय ४३ वडाध्यक्ष्मध्ये दुई तिहाइ बढी निर्वाचित भैसकेका छन् ।निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइडमा बुधबार राखेको तथ्यांक अनुसार हालसम्म ४ हजार ८ सय ६७ वडाध्यक्ष निर्वाचित भैसकेको छन् ।

जसमा सवैभन्दा धेरै नेपाली काँग्रेसका १ हजार ९ सय ६२ जना र एमालेका १ हजार ५ सय २२ जना निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट ८२७, जनता समाजवादीबाट १४७ र स्वतन्त्रसहित अन्यमा ४०९ जना वडाध्यक्ष निर्वाचित भएको आयोगले जनाएको छ । कुल वडाध्यक्षमध्ये निर्वाचित भएका घटाउँदा १९ सय ७६ वडाध्यक्ष निर्वाचित हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस